स्वामी निराकार
क्रान्तिको चेत जन्मनुको सुरुवात विद्रोहको चेत हो । कसैले क्रान्ति र विद्रोहलाई एकै अर्थमा वुझ्लान वा वुझाउँलान त्योसँग मेरो कुनै सरोकार भएन । विद्रोहले तत्कालिन अवस्थाको अगतिलो, तानाशाही, रुढिवादी र एकलवादी सोच, काम, परम्परा र शासन व्यवस्थाको विरोध मात्र गर्न सक्छ । तर क्रान्तिले त्यसलाई भत्काएर असल नयाँको निमार्ण गर्छ । विद्रोह झिल्को जस्तो पनि हो क्रान्ति भनेको अविरल भइरहने एक अविश्रामित यात्रा हो । क्रान्तिले जहिलेपनि सकारात्मक कुराको निमार्ण गर्छ ।
‘अक्षरममा मान्छे’ भित्र छिर्नुभन्दा अगाडी मैले यति भूमिका वाधेँ ।
कविको कवित्वमा विद्रोह आउँछ र जन्माउँछ विद्रोह गर्ने वेला भयो भन्ने कविता । कवि रामप्रसाद खरेल लेख्छन् आफ्नो कवितामा —
राम्रा अक्षरमा हिमाल लेखियो
म उभिएँ
तपतप पसिना पोखियो
जिब्रो भन्छ नुनिलो भो
म अन्तिम घोषणा गर्छु
अब विद्रोहको बेला भो ।
(पेज नं. ४४ विद्रोह गर्ने वला भयो ।)
मैले माथि वाध्न खोजेको भूमिका यसैलाई पुष्टी गर्नु थियो । कविले यो कवितामा वर्तमान समयको मूल्याङ्कन गर्दै आम मानिसमा सचेतनाको लागि आपूm अग्रपङ्तीमा उभिएर विद्रोहको घोषणा गर्छन् । तर यो कविताको म पात्र विद्रोही हो क्रान्तिकारी होइन । यो पात्रलाई क्रान्तिकारी हुने चरणमा मात्र पुगेको भन्न सकिन्छ । क्रान्तितर्फ उन्मुख हुँदै गरेका कविताहरुका रुपमा ‘अक्षरमा मान्छे’ भित्रका अन्य केही कवितालाई पनि लिन सकिन्छ । जस्तै ः भगवान्को सेयर–बजार, विद्रोह ।
शरणार्थी इच्छाहरू शिर्षकको कविता भने झण्डै क्रान्तिको नजिक छ । कविता यसरी वोल्छ —
लिलामी मनहरू खारेज गर्दै
मुक्तिको घोषणा गर्न
एकजुट बन्दै छन्
शरणार्थी इच्छाहरू ।
‘अक्षरहरूको जुलुस’, ‘खेल’ र ‘सालिक शिर्षक’का कविताहरू वास्तविकताको धरातल मात्र भनिदिन्छ मान्छेहरूलाई । जागरणको पाटो एक भाग कविलाई मान्ने हो भने अर्को भाग पाठकलाई छाडिन्छन् कवि । ‘स्टप वार’ शिर्षकको कवितामा युद्घवाट आजित मनहरूको पिडा निकै मजाले प्रस्तुत गरिएको छ ।
‘क्रान्तियोद्घा’ शिर्षको कविता चै विद्रोहको भाववाट निकै माथि उठी क्रान्तिकै सूचक वनेको कविता हो । आम मानिसले राजनीतिसगँ जोडेर हेर्छन क्रान्तिलाइ तर वास्तविकता यो हुँदै होइन् । क्रान्ति त जुन कुरामा पनि हुन सक्छ । आम मानिसले क्रान्तिलाई राजनीतिसगँ जोडेर हेर्ने सन्दर्भलाई मात्र यहाँ राख्ने हो भने अहिलेसम्म लेखिदै आएका क्रान्तिकारी कविताहरूमा यो कविताले एक विशिष्ठ र फरक स्थान लिनसक्छ । विद्रोहत्माकताले ध्वंस मात्र नगरी यो कविताको पात्र उ अर्थात क्रान्तियोद्घ नवनिमार्णमा समेत लाग्छ । उसको साहस यति छ कि संसारलाई समाजवाद भने पनि पूरै साम्यवाद भनेपनि त्यसको पनि उच्च स्थान पूर्याउँने अठोट लिन्छ । हरेक कुराका विभेदहरू र अन्याय निमिट्यान्न पार्दै न्यायमूलक समाजको बाटो उसको मिसन हुन्छ । क्रान्तिले जसलाई हराउँछ उसलाई पनि उतिकै स्थान दिने कुरा वोल्छ यो कविता । यो कवितामा सालिन वा सकारात्मक महान क्रान्तिकारी चेत प्रष्ट पाउँन सकिन्छ । ‘क्रान्तियोद्घा’ कविताको अन्त्यमा पात्रलाई यसरी प्रस्तुत गर्छन कवि —
सुन्दर दृष्टि बोकेको
ऊ अर्थात क्रान्तियोद्घा
विश्वस्त छ
एक दिन
सबैको अनुहार देखिने
नयाँ तस्बिर हुनेछ सिङ्गो धर्तीको ।
यो भन्दा ठूलो आदर्श र समाजवाद वा साम्यवादको उच्च नमुना के हुन्छ अरू ? अहिलेको समाज भनेको निश्चित वर्ग र ओहोदाका मानिसहरूको मात्र अनुहार देखिन तस्बिर हो । यहाँ दविएका र दवाईएकाहरूको अनुहार जतिनै सुन्दर र कोमार्य भएपनि सामाजिक तस्बिरमा देखिदैनन् ।
मैले कविताको चिरफार विचवाट गरे किनभने चुर वा गुदी विचमै हुन्छ भनेर हो । यदि नकारात्मक भएर भन्ने हो भने आवरणमा दुइचार कविता राखेर विचका चै अकविताहरू हुन्छन् भन्ने आसयले पनि हो । सखुवाको भित्र दह्रो हुन्छ वा काम लाग्ने कुरो हुन्छ । आरु दानाको होस कि आल्चाको यसको चै वाहिरी भाग मात्रै काम लाग्ने हुन्छ । तर सुन्तलाको वाहिरी भाग खाइदैन् भित्रको मात्र खाइन्छ । यसको अर्थ सुन्तलाको पनि भित्री भाग असल हुन्छ । अंगुर यस्तो चिज हो वाहिर भित्र सवै मिठो हुन्छ । यसमा वोक्रा, गुदी र दाना भनेर छुट्याई रहनु पर्दैन । यसैले मेरो चरित्र यहाँ कविताको विचवाट छिर्ने हो ।
जीवन र उर्जा खण्डमा रहेका कविताहरुले मानिसलाई सुखानुभूति र प्रेरणा दिन्छन् । आदर्शको तौल यहाँ वढी छ । तर आदर्शको परिक्षण व्यवहारमा मात्र प्रमाणित हुन्छ । जेभएपनि फेरि जीवनको आदर्श त हुनैपर्छ । यो खण्डका कविताहरुमा कवि मानिसहरुलाई जगाउँन अग्रसर छन् । ‘स्वप्नदर्शीहरू’ कवितामा स्वप्नदर्शीहरूको साहसलाई यसरी भनिदिन्छन् । उनलाई लाग्दो हो यो आदर्शलाई पाठकले पनि अनुकरण गर्छन् ।
झरेपछि नउठाउनु
हारेपछि मैदान नै कहिल्यै नटेक्नु
एकदुई पहिरामा बाटो नै छाडिदिनु
मान्दै– मान्दैनन् स्वप्नदर्शीहरू
एक–एक गरी उठाइरहन्छन्
कहिल्यै हार खादै–खादैनन् स्वप्नदर्शीहरू ।
उच्च स्वतन्त्रता र अध्यात्मको उठान पनि यो खण्डका कविताहरूमा छन् । ऊ आउँछ नयाँ भएर भन्दै जीवनको वोध गराउँन खप्पिस देखिन्छन् कवि ।
कविताको अन्तिम खण्ड जीवन र भोगाइ हो । यस खण्डका कविताहरूमा करुणा, आन्तरिक खोज, पारिवारीक प्रेम, देशले दिएको पिडा, जीवन मृत्यू चिन्तन, कामना र प्रार्थना कुराहरूलाई झल्काउँछन् । कवितामा आमाको कुरा निकै नै उठाइन्छ । वावुको कम आउँछ । यस खण्डको एउटा कविता ‘बाबु हुनुको पिडा’मा बाबुको एक पाहड दुख छरपष्ट पारिदिन्छन् कवि । तर यहाँ बाबुको पिडा जसरी पोखिएको छ त्यो भन्दा वढी आमाको आदर्शलाई उठान गरिएको छ । बाबु हुनुको जुन पिडा छ त्यो कहिल्यै पूरा नहुने पिडा सन्तान जन्मदा आमा भन्दा पहिले आफूले हेर्न नपाउँनुलाई यो कविताले वहसमा ल्याउँछ । कवि ‘बाबु हुनुको पिडा’मा यसरी दुख पोख्छन् –
यदि म
आमा हुन पाएको भए
म नै हुने थिएँ तिम्रो जीवनको
पहिलो साक्षी ।
यस खण्डका कुनै कविताले मानिसलाई आफ्नो आन्तरिक खोजतर्फ लान्छन् । कुनै कविताले आडम्बरको पर्दा च्यातिदिदैँ वास्तविकताको चित्र देखाईदिन्छन् । कुनै कविताले मौन पार्छन भने कुनै कविताले थाहै नपाई तप्लक्क आँशु थोपा पुस्तक पानामै बर्षाइदिन्छन् । कविताहरूमा प्रेमको उच्चता पनि चुहिएको छ –
रूखको आफ्नै धर्ती होस्
चराको आफ्नै आकाश होस्
र होस् त्यहाँ मान्छेका सुन्दर गीतहरू ।
रामप्रसाद खरेलको कविता सङ्ग्रह ‘अक्षरमा मान्छे’ को यात्रा विचवाट शूरू गरेर म अन्तिममा पुगेँ । अब अन्तिमबाट शुरुतर्फ आउँदैछु । यात्रामा कतै वुझेर कतै नवुझि पनि म रोमाञ्चि भएँ । कृतिको पहिलो खण्ड भनेको वा शुरुवाती यात्र गर्ने भनेको प्रेम र जीवन खण्डवाट हो । यदि कविको लेखकिय भूमिकालाई छाड्ने हो भने । म उनको त्यो विचारतर्फ पसेर कुनै वहस गर्न चाहिन । किनभने हरेक मान्छेका हरेक बिषयमा आ–आफ्ना धारणा हुन्छन् । त्यो एउटा छुट्टै वहसको पाटो हो । विचार भन्दापनि अझै अगाडी कभर पल्टाउँने वितिकैका चार हरफ भने मैले यहाँ उल्लेख गर्नु नै पर्छ जस्तो लाग्यो ।
पुस्तक प्रवेसका यी चार हरफलाई ओशोको दर्शन भावसगँ दाजेर हेर्न मज्जाले मिल्छ । हुन त कवि खरेल ओशो सन्यासी नै भएकाले ओशोको प्रभाव नहुनु भनेको दुधमा घिउको मात्रा नहुनु जस्तै हो । ओशो सन्यासमा स्वामी रामतीर्थका नामले सम्बोधन गरिने कवि रामप्रसाद खरेलका यी चार लाईन ओशो जागरणकै अर्को श्रृखला हो भनेर वुझ्दा के फरक पर्ला र ?
जिउँदै मर्छ भान्छे, जाग्न नसकेर
मरेर पनि बाँच्छ मान्छे, जीवनभर जागेर
पूरा गरिछाड्नुपर्छ, लक्ष्य र सपना
सङ्कटमा पनि बल्छ जीवन, जागेर हेर ।
मैले शुरुमै वहसमा ल्याएको क्रान्तिकारी चेत पुस्तकको थालनीमै भेटिन्छ । एउटा क्रान्तिकारीको अदम्य साहस भनेकै लक्ष्य पुरा गरी छाड्नु हो । पहिलो खण्डका कवितावारे लेख्न खोज्दा खोज्दै ओशोसगँ जोडिएर दुइचार लाईन कुरा थप भएका मात्र हुन । म जीवन र प्रेम खण्डमा प्रवेश गरेँ ।
‘मेरा बा’ शिर्षकको कविता ‘अक्षरमा मान्छे’ भित्रको पहिलो कविता हो । यसले तीन वटा कुरालाई दर्शाउछ । पहिलो बाबुको मृत्यूपछि सन्तानको पिडा र पिडासँगै जोडिएर आउँने वाल्यकालको सम्झना । दोश्रो आमाको दुखको काहानी र वास्तविकता त्योपनि नेपाली हिन्दु संस्कारमा । तेश्रो चै बाबु विनाको जीवन यात्राको शुरुवात । बाबुको काधँवाट हरेक सन्तानको उचाई शुरू हुने तर्क छ कविको । जसरी आमाको काखवाट उसको धर्तीको शुरूवात हुन्छ । यो कविता पढ्दा यदि कसैले आँशु झारेन भने उसले कविता नै पढेको हुँदैन् । कवि खरेल यस्तो धरातलमा पूर्याउँछन् पाठकलाई पुस्तकको शुरूवातमा जागरणको कुरा गर्छन् कविता चै आँशुवाट शुरु गरिदिन्छन् ।
‘मेरा बा’ कविताले जीवनको साश्वत सत्यको वकालत चै गर्छ । कसरी भने मानिसको जिन्दगी नै रुवाईवाट शुरू हुन्छ । तर बच्चा जन्माउँने वेलामा बुबा आमाको समागम भने कति उल्लासपूर्ण र जागरूक अनि रोमाञ्चक हुन्छ होला । यस्तो उत्साहवाट जन्मिएको मान्छेको संसारिक यात्रा चै फेरि रूवाईवाट शुरु हुन्छ । यो कविता पढ्दा हरेक मान्छेको आखाँ नचाहेर पनि चुहिन्छन् । यस खण्डका अरु १० वटा कविता पूरै प्रेमिल छन् । मिलन, विछोड र भरोसाहरू कविताभरी देखिन्छन् । प्रेमभित्र अलिकति जीवन दर्शन यसरी घुसाउँछन् उनि –
सोच्दै छु,
मन्दिरको मूलढोकामा उभिएर
बर्षौअघि
हामीले लेखी छोडेका यी हरफहरू–
समयको संयोग हो जिन्दगी उभिनु
सपनाहरूको मृत्यू हो जिन्दगी ढल्नु
बाँकी अविरल बग्ने प्रेमका यादहरू ।
(यादहरू शिर्षकको कवितांश पेज नं. २०)
पाठकलाई ‘मेरा बा’ शिर्षको कवितावाट रूवाएर यात्रा शुरू गराउँछन् र अन्त्यमा ‘आफ्नो देशभन्दा धेरै पर’ शिर्षको कवितामा रूवाएर नै विश्राम गराउँछन् । अनि अन्त्यमा प्रेम अपर्ण गर्दै हरेक पाठकलाई धन्यवाद ज्ञापन गर्छन् । यी दुइ कविताको विचमा कहि जुरुक्क उठाउँछन्, कतै फुरुक्क पार्छन्, अनि हँसाउछन्, आशावादी वनाउँछन् । कहि विद्रोह गर्न तयार पार्छन पाठकलाई कतै क्रान्ति गर्न ।
अन्त्यमा मैले भन्नुपर्छ ‘अक्षरमा मान्छे’ भित्रको यात्रा कस्तो भयो ?
माथि मैले भनेको छु नि अङ्गुरको कुरा त्यस्तै हो । तर सुगर हुनेलाई वा गुलियो मन नपर्नेलाई यो बिम्बले गलत अर्थ लाग्न पनि सक्छ । ३४ कविता मध्ये केही उत्कृष्ट कवितामा दर्ज गर्न योग्य छन् अरु बाँकी राम्रा छन् । अङ्गुर पनि पखालेर मात्र खानुपर्छ ।
यो सन्यासीले कसरी यात्रा शुरु गर्यो सङ्ग्रह भित्र र कसरी वाहिर निस्कियो ध्यान जतिकै भएको छ ।
कभरको अग्र भागले नै आँखालाई मज्जाले तान्छ । हेर्दै गएपछि मनलाई तान्छ । कभरको पछाडी पुगेपछि फेरि हृदय पगाल्छ । कविता सरल जस्ता लागेपनि गहिरा छन् डुब्दै गएपछि । किनारमा उभिएर नदिको गहिराई अनुमान गरेजस्तै हुन्छ पहिलो पटक पढ्दा । मज्जाले डुब्न थालेपछि निकल्न नै गाह्रो पार्छन केही कविताहरूले ।
यात्रा यसरी विसाएँ कविले नै कभरको अन्त्यमा विश्राम गरेजसरी । उनको विश्राव यस्तो छ –
बा !
त्यसबेला सानो भएर पनि
अग्लो थिएँ म
मेरो उँचाइ तिम्रो काँधबाट सुरू हुन्थ्यो
आज
ठूलो भएर पनि होचो छु म
नियतिले तिम्रो काँध
मबाट खोसेपछि ।
++++++++
(समिक्षक निराकार पेशाले साइकोलोजिष्ट हुन् ।)