अख्तियारले लियो चासो मेलम्ची खानेपानी आयोजनाको ?

प्रकासित मिति: ४ पुष २०७४, मंगलवार १५:३२

काठमाडौँ, ४ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ ।

खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले छलफल शूरु गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट मुक्त होइन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आयोजनाको कार्यप्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवाँ, धुलोले पारेको नकारात्मक प्रभावका बारेमा सम्बन्धित सरोकार निकायका प्रमुखसँग छलफल गदै चाडै निमार्ण कार्य सम्पन्न गर्ने आग्रह गरे ।

सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको भन्दै प्रमुख आयुक्त बस्न्यातले काठमाडौँ उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली ठीक नभएको र नागरिकले शीघ्र रुपमा सेवा पाउने उपायका बारेमा सम्ब्न्धित पक्षलाई निर्देशन दिनुभयो ।

समस्या देखाएर पन्छने प्रवृत्ति बढ्दै गएको भन्दै अर्का आयुक्त डा सावित्री थापा गुरुङले समन्वय गरेर कार्य सम्पादन गर्नुपर्ने र आम नागरिकले अनुभव गर्ने गरी आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौँको आवश्यकता पूरा गर्न सक्ने गरी आयोजनाको काम सम्पन्न हुनुपर्ने धारणाराखे ।
मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले धेरैजसो पाइप बिच्छ्याइएको स्थानमा कालोपत्र र पुनःनिर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताउनुभएको थियो ।

पुनःनिर्माण गर्नुपर्ने स्थानमा आयोजनाले विशेष प्राथमिकतामा राखी धुलो र धुवाँ हटाउने कार्यलाई प्राथमिकता राखिएको बताउनुभएको थियो । आयोजनाको सुरुङ निर्माणको काम करिब सम्पन्न हुने चरणमा पुगेको र आगामी दुई हप्तामा अम्बाथान–ग्याल्थुम खण्ड ‘ब्रेक थ्रू’ हुने सम्पन्न हुने कार्यकारी निर्देशक देवकोटाको भनाइ थियो । उक्त खण्डमा सय मिटर सुरुङ खन्न बाँकी रहेको छ ।

देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रू गर्न बाँकी रहने र त्यो पनि केही समय भित्रै सम्पन्न हुने छ । उक्त खण्डमा ५१५ मिटर जति सुरुङ खन्न बाँकी रहेको छ । नरम चट्टान भएका कारण सुरुङ खन्न समस्या आएको आयोजनाले जनाएको छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलब चार किलोमिटर लामो सुरुङ २०७३ पुसमा नै निर्माण सम्पन्न गरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement