अनाधिकृत मुद्रणबारे बजार अनुगमन

प्रकासित मिति: २३ श्रावण २०७४, सोमबार १५:२६

काठमाडौँ, २३ साउन । अनाधिकृत पुस्तक उत्पादन र बिक्री वितरणबारे विवाद उत्पन्न भएपछि साझा प्रकाशनले आन्तरिक छानबिन र बजार अनुगमन शुरु गरेको छ ।

अनामनगरस्थित अल्पाइन प्रेसबाट आइतबार साझाको पुल्चोकस्थित गोदाममा राख्न ल्याइएका “सबैको नेपाली” पुस्तकमा प्रकाशन वर्ष र मूल्य फरक परेको भनी कर्मचारीले आवाज उठाएपछि छानबिन सुरु भएको हो ।

सोही विषयमा साझाका पुराना र नयाँ कर्मचारीबीच भनाभन हुँदा हात हालाहाल भएको घटनालाई दुवै पक्षले मिलापत्र गर्ने तथा साझाका व्यवस्थापकले कर्मचारी युनियनले राखेका माग सम्बोधन गर्ने समझदारी भएको छ ।

कर्मचारीका मागबारे छलफल गर्न आउँदो सोमबार सञ्चालक समितिको बैठक बोलाएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो ।

उहाँले स्थापनाकालदेखि नै आफूले उत्पादन गर्न नसक्ने कृति बाह्य प्रेसलाई दिँदै आएकामा हाल पनि चालु पुँजीको अभाव रहेको, संस्था छापाखानाको क्षमतामा विस्तार नभएको र पाठ्यक्रममा रहेका पुस्तक समयै उत्पादन गरी बजारमा पठाउनुपर्ने भएकाले संस्थाले निर्धारण गरेको दररेटमा नियमानुसार बाह्य प्रेसबाट छपाइ गरी केन्द्रीय भण्डारमा स्टोर दाखिला गरी देशभर बिक्री वितरणको व्यवस्था मिलाइएको जनाउनुभयो ।

उहाँले अल्पाइन प्रेस आफ्नो नभई दीनेश श्रेष्ठको स्वामित्वको भएको जिकिर गर्नुभयो । साझाबारे पछिल्लो समयमा उठेका प्रश्नबारे संसद्को लेखा समिति र शिक्षा मन्त्रालयबाट छानबिन भइरहेको छ ।

शर्माले भन्नुभयो, “ती छानबिनलाई पनि यसले सघाइनेछ र कुनै अवैध काम वा अनियमितता भएको पाइएमा जस्तोसुकै कारबाही भोग्न वा कठघरामा उभिन म तयार छु ।”

साझा प्रकाशन कर्मचारी संगठनका अध्यक्ष प्रभा रेग्मीले कर्मचारी नियमावली संशोधन फिर्ता, अध्यक्ष र महाप्रबन्धक एकै व्यक्ति हुन नहुनेलगायत आफूहरुले राखेका पेशागत माग पूरा हुनुपर्ने र इतिहास बोकेको संस्था डुब्न नहुने बताउनुभयो

Bhansar Bivag
Argakhachi Cement