अवधि सकिनु अघि नै निर्वाचन हुनुपर्ने सुझाव

प्रकासित मिति: ६ फाल्गुन २०७३, शुक्रबार १५:५५

काठमाडौँ, ६ फागुन । आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकाले निर्वाचित संस्थाको अवधि सकिने बित्तिकै चुनाव हुनुपर्नेमा जोड दिइएको छ ।

प्रथम निर्वाचन दिवसको पूर्व सन्ध्यामा निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र र निर्वाचन’ विषयक अन्तरक्रियाका सहभागी वक्ताले सो कुरामा जोड दिनुभएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रशासकीय अदालतका अध्यक्ष एवम् संविधान विश्लेषक काशीराज दाहालले लोकतन्त्र भएको देशमा वर्षौदेखि स्थानीय निकायको निर्वाचन नहुनु असुहाउँदो भएको बताउनुभयो ।

“तीन तहको निर्वाचन गर्न सरकारले तत्काल मिति घोषणा गर्नुपर्छ, रुपान्तरित संसद्ले दूरगामी प्रभाव पार्ने निर्णय गर्नुहुँदैन, निर्वाचन मिति आयोगले तोक्ने व्यवस्था हुनुपर्छ” –उहाँले भन्नुभयो ।

दलहरु पारदर्शी भई आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभ्यास सुरु गर्नुपर्नेमा दाहालले जोड दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जेठमा स्थानीय निर्वाचन गर्न सरकारले एक दुई दिनमै मिति घोषणा गर्नुपर्ने बताउनुभयो । “लोकतन्त्रको आधार निर्वाचन भएकाले आयोगले पहिलोपटक निर्वाचन दिवस मनाउने परम्परा सुरु गरेको छ, मुखले लोकतन्त्र भन्ने तर व्यवहारमा नउतार्ने संस्कार अन्त गरिनुपर्छ” –उहाँले भन्नुभयो ।

पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन जिते स्वच्छ भयो, हारे धाँधली भयो भन्ने संस्कारबाट दलहरु मुक्त हुनुपर्ने बताउनुभयो । “खेलको नियम मान्ने संस्कार राजनीतिक दलले विकास गर्नुपर्छ, आयोगलाई संवैधानिक रुपमै स्वायत्तता दिइनुपर्छ” –उहाँले भन्नुभयो ।

कार्यक्रममा भारतको केरला प्रदेशका प्रमुख निर्वाचन आयुक्त एके माझी, आयोगका सचिव गोपीनाथ मैनाली, पूर्व सचिव सुशील राणा, सह–सचिव नवराज ढकाल र रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र शर्मालगायतका वक्ताले लोकतन्त्रलाई संस्थागत गर्न समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

हुलाक टिकटमा टाँचा

निर्वाचन दिवसको पूर्व सन्ध्यामा आजै आयोगमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले निर्वाचन आयोगको स्वर्ण महोेत्सवका अवसरमा प्रकाशित विशेष संस्मरणात्मक आवरणमा प्रथम दिवसीय टाँचा लगाउनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले आयोगले दलहरुलाई निर्वाचनसम्बन्धी विषयमा मार्ग निर्देश गर्नुपर्ने बताउनुभयो । “आयोगले मताधिकारबारे मतदातालाई सचेत बनाउनुपर्छ, निवार्चनका विषयमा मतदाता सचेत र जागरुक भए भने मात्र निर्वाचन स्वच्छ हुन्छ” –उहाँले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको मिति तोकिएपछि मन्त्रीलाई पनि आचारसंहिता लगाइने प्रतिबद्धता जनाउनुभयो

Bhansar Bivag
Argakhachi Cement