अहिलेको आवश्यकता : पर्यावरणीय कृषि (एगा्रे इकोलोजि)

प्रकासित मिति: १ मंसिर २०७५, शनिबार ०५:००

प्रमेश पोखरेल

अहिले विश्वमा अभ्यास गरिएका उत्पादन प्रणालीलाई मुख्यत दुई भागमा विभाजन गर्न सकिन्छ । एकथरी उत्पादन पूजिवादी निगमीय नवउदारवादी मान्यतामा आधारीत छ जुन विश्वमा अहिले हावी मानिन्छ । यि व्यक्ति र संस्था उत्पादन बढाउन बाह्य रसायनिक मल, विषादी, आनुवांशिक विउ र यन्त्रको प्रयोग गर्नेमा जोड दिन्छन् । यस अभ्यासले खाद्य तथा कृषिलाई व्यापारिक तथा नाफको दृष्टिले हेर्दछ । तर अर्कोथरी यस्तो उत्पादन प्रणालीको विरोध गर्नेहरु छन् । त्यस्तो कृषिले वातावरण, माटो, मानव स्वास्थ्य विगारेको मात्र होइन यसले केहि धनी किसान र कम्पनीलाई मात्र फाइदा पुगेको यिनीहरुको तर्क छ । न त यस्तो कृषिले दिगो रुपमा उत्पादन बढाएको न त विश्वका बहुसंख्यक साना किसानको हित गरेको उनीहरुको निष्कर्र्ष छ । यसैको विरोध गर्ने तथा वैकल्पिक अभ्यासको वकालत गर्ने क्रममा पर्यावरणीय कृषिको अभियान जन्म भएको हो । प्राकृतिक, जैविक र साना किसानकेन्द्रित तवरले पनि उत्पादन बढाउन सकिन्छ । कृषिलाई बाह्य पदार्थको प्रयोगमा आधारीत बनाउदा किसान झन् गरिव बन्छन् र कृषिलाई नाफामुखी होइन आत्मनिर्भर बनाउनुपर्छ भन्ने पर्यावरणीय कृषिको मान्यता रहेको छ । यो उत्पादकत्व बृद्धि, दिगोपन, जनचाहना आदीलाई समेत जैविक विविधतामा आधारीत पर्यावरणीय रुपमा सम्वोधन गर्ने अभ्यास हो ।
पर्यावरणीय कृषि अहिले तातो विषय बनेको छ । अरु भन्दा पनि केहि समय अघि व्यापारिक कृषिको कुरा गर्नेहरु, हरित क्रान्ति र आनुवांशिक क्रान्तिका पक्षधरहरु, बहुराष्ट्रिय निगमका मालिकहरु, रसायनिक खेतिको वकालत गर्नेहरुले अहिले कृषि पर्यावरणका कुरा गर्दा अचम्म पनि लाग्दछ । तर यसका विविध कारण र आयाम छन् । यसको प्रमुख कारण रसायनिक खेति, औद्योगिक कृषि तथा हरितक्रान्तिका छरपष्ट नकारात्मक प्रभावका कारण दिगो कृषिको मुद्दा प्रमुख बन्नु हो । अझ महत्वपूर्ण कारण गरिवी निवारण, उत्पादकत्व बृद्धि र स्वच्छता स्वस्थताको लागि साना किसानको हीत अनुकुलको कृषिका सवालहरु केन्द्रीकरण हुनु नै हो । खाद्य सम्प्रभुताको मुलप्रवाहीकरणसँगै कृषि पर्यावरणको मुद्दाले महत्व पाँउदा अहिले जताततै यसको चर्चा छ । तर कतिपयले कृषि पर्यावरणको परिभाषा आफ्नो अनुकुल पनि बनाउन लागि परेका छन् भने कतिपय कसरी फेरी नयाँ बहानामा व्यापार बढाउन, नाफा कमाउन तथा विश्वका साना किसान तथा ग्रामीण क्षेत्रका जनताको शोषण गर्न सकिन्छ भन्ने हिसावले पनि कृषि पर्यावरणको कुरा गर्दै छन् । यिनीहरु पर्यावरणीय कृषिको आफ्नो अनुकुल ब्याख्या गर्दछन् ।
के हो त पर्यावरणीय कृषि ?
वेब्स्टर शव्दकोषले पर्यावरणीय विज्ञानका अवधारणा र सिद्धान्त अनुरुप दिगो कृषि प्रणालीको अभ्यास, विकास र व्यवस्थापन गरिने कृषि पर्यावरणीय कृषि हो भनी परिभाषित गर्दछ । यसको अर्थ पर्यावरणीय कृषिले उत्पादनमा मात्र नभइ वातावरणीय दिगोपन र सामाजिक संवेदनशीलतामा पक्षलाई समेत ओगटेको हुन्छ भन्ने हो । पर्यावरणीय कृषिको प्रमुख अभियन्ता विश्वव्यापी किसान संजाल लाभिया क्याम्पेशिनाका अनुसार यो पृथ्वी वा धर्तीमाताको सम्मान र सन्तुलनमा गरिने कृषि हो जस्ले किसान हीत तथा प्राकृतिक स्रोतको दिगो र न्यायोचित प्रयोगलाई जोड दिन्छ ।
पर्यावरणीय कृषि, कृषि प्रणालीको त्यो सिद्धान्त हो जसले औद्योगिक निगमीय कृषि, प्राकृतिक स्रोतको नीजिकरण, हानीकारक बाह्य लागत, खाद्यान्नको व्यापारीकरण, स्थानीय विउविजनको नाश, भुमि तथा अन्य उत्पादनका साधनबाट किसानको बेदखल लगायत जलवायु परिवर्तनको कारणका बहुआयामिक पक्षलाई समेटेको हुन्छ । त्यसैले यो बहुआयामिक, समग्र तथा राजनितिक अवधारणा हो । यसले साना किसान तथा विश्वका सर्वाहारा सिमान्तीकृत वर्गको प्रतिनिधित्व गर्दछ । यो पूजिवादी नाफामुखि कृषि प्रणालीको विरुद्धको आत्मनिर्भर कृषिमा जोड दिने अभ्यास पनि हो । यसलाई स्थानीय संज्ञान र सांस्कृतिक अभ्यासको जगमा तथा निगमीय रसायनिक खेतिको विपक्षको संघर्षमा गरिने साना किसान केन्द्रित दिगो र आत्मनिर्भर कृषि भनी बुझ्न सकिन्छ । यो जनस्तरबाट विकसीत तथा विश्वभर अभ्यासमा रहेको हुनाले यसका स्वरुपहरु अनेक हुनु तथा यसलाई फरक फरक रुपमा बुझिनु यसको व्यापकता हो ।
कसै कसैले कृषि पर्यावरणलाई लामो समयदेखि परम्परागत रुपमा गर्दै आएको खेतिको रुपमा पनि परिभाषित गर्दछन् । यो बुझाइ अपूर्ण छ । यसरी कतिपयले कृषि पर्यावरणको महत्वलाई नजरअन्दाज गर्ने पनि गर्दछन् । पर्यावरणीय खेति र प्राङारिक खेतिमा पनि फरक छ । पर्यावरणीय खेति र परम्परागत खेतिमा पनि भिन्नता छ ।
यो कुरा साचो हो कि पर्यावरणीय कृषि कुनै आविश्कार होइन । नयाँ अभ्यास होइन । यो हामीले १०००० वर्ष भन्दा बढी कृषिको अभ्यास गर्दा संकलीत ज्ञानको प्रयोग, प्रकृतिको सम्मान तथा आजको उत्पादन र मानवीय आवश्यकता परिपूर्तिको समग्र पक्ष समेटि गरिने खेति हो । यो जैविकीय, दिगो, परम्परागत कृषि पनि हो तर यसले आजको विज्ञानको पनि महत्वपूर्ण पक्ष समेटेको छ । मात्र रसायनिक पदार्थको प्रयोग नगर्ने कृषि होइन । यसका विविध तत्व र पक्ष छन् । कृषि पर्यावरण दिगो खेतिको अभ्यास हो । तर यो फेरी यहाँ बुझ्नुपर्ने कुरा यो विधि मात्र होइन । यो कृषि प्रणालीमा किसानको आत्मनिर्णय र किसान कल्याण हुनुपर्छ भन्ने राजनीतिक संघर्ष पनि हो । यो खाद्य सम्प्रभुता प्राप्तिको लागि स्थानीय स्तरमा जनताद्वारा गरिएको संघर्षको एक स्वरुप हो । यो कृषि विकास र सर्वाहाराको कल्याण आन्दोलन वा साना किसानको आफ्नो सम्प्रभुताको संघर्ष पनि हो र यसले कृषिलाई किसान अधिकारबादी दृष्टिले हेर्दछ । अझ यसलाई हरित क्रान्ति र आनुवांशिक खेतिको विरुद्धको संघर्ष भन्न सकिन्छ । यो किसान मैत्रि तवरले पनि उत्पादन बढाउन सकिन्छ भन्ने मान्यतामा आधारीत छ । ब्राजिलका किसानहरु सयौं बर्षदेखि बहुवाली कृषि बन अभ्यासबाट उत्पादन बढाउने तथा बाह्य लागत शुन्य बनाउने गर्दै आएका छन् । भारत लगायत दक्षीण एशियाली क्षेत्रमा अहिले सुवास पालेकरको जिरो बजेट प्राकृतिक खेतिको रुपमा पनि यो परिचीत छ । नेपालमा हामी यसलाई कृषि पशुपालनमा आधारीत मिश्रीत बाह्य रयासनको प्रयोग विना खेतिगर्दै आएका छौं । यो तिनै जनस्तरबाट विकसीत उत्पादन बढाउने तथा प्राकृतिको सामिप्यमा गरिने खेतिको रुप हो ।
पर्यावरणीय कृषि सम्वन्धि भ्रम र एथार्थ
माथि नै चर्चा गरेझै कतिपय व्यक्ति र निकायहरु कृषि पर्यावरणको गलत व्याख्याबाट फाइदा लिने ध्ययमा छन् । यसलाई आधुनिक दिगो कृषि वा जलवायु मैत्रि कृषिको रुपमा समेत व्याख्या गर्दछन् । तर यो गलत र भ्रमाहक छ । निशन्देह पर्यावरणीय कृषि दिगो पनि हुन्छ र जलवायु परिवर्तन अनुकुलनमा महत्वपूर्ण मानिन्छ । यहाँ बुझ्नुपर्ने गहन अर्थराजनीति के छ भने कतिपय निकाय र बहुराष्ट्रिय निगमहरु पर्यावरणीय कृषिको नाममा फेरी व्यापार गर्न चाहन्छन् । जैविक प्राङारिक मल, आनुवांशिक विउ र प्रविधिको विस्तार गर्न चाहन्छन् । तर पर्यावरणीय कृषि त आत्मनिर्भर र शुन्य बाह्य लागतको कृषि हो । यसले जलवायु परिवर्तनलाई अनुकुलन गर्ने मात्र होइन पृथ्वीको तापमानलाई सन्तुलन गरी चिस्याउन समेत भुमिका खेल्दछ ।
अर्कोथरी यसलाई निर्भामुखी ग्रामीण परम्परागत खेति भनेर यसले उत्पादकत्व घटाउने र गरीवी बढाउने तर्क राख्दछन् । यिनीहरु बजारीया मल, आनुवांशिक र ठिमाहा विउको वकालत गर्दछन् । संसारमा थुप्रै उदाहरण छन् जहाँ किसानमुखि प्राकृतिक खेतिबाट विना कुनै लागत दिगो रुपमा प्रशस्त लाभ लिन सकिन्छ । अनि किसानले अभ्यासको क्रममा थुप्रै जलवायु मैत्रि कम लागत लाग्ने तथा स्थानीय विउको खुल्ला सेचन गरी सुधारीएका विउबाट उत्पादन बढाएका छन् । एफएओको एकिकृत किरा व्यवस्थापन, सुवास पालेकरको जिरो बजेट प्राकृतिक खेति, पर्मकल्चर, जैविक प्राङगारिक खेति आदी केहि नाम हुन् जसलाई सहि रुपमा गर्दा शुन्य लगानीमा रसायनिक खेति सरह लाभ लिन सकिन्छ । अझ दिगो रुपमा वातावरण, मानव स्वास्थ्य, प्राकृतिक सन्तुलनको फाइदा त छदै छ । अझ यस्तो उत्पादनको आयस लामो रहने तथा मुल्य समेत बढी पाइने हुन्छ । धानमा श्री (जरामार्फत विउ बृद्धिगर्ने प्रकृया ) अपनाउदा क्युवाका किसानले जैविक रुपमा विश्वमै औसतमा प्रतिहेक्टरमा बढी धान उत्पादन गर्दछन् । यस्तो पर्यावरणीय खेतिमा बहुवाली हुने हुनाले एक मौसममा मात्र नभई वर्षभरीकै लागि उत्पादन हुन्छ । एक वाली रोग वा अन्य कारणले क्षती भएमा पनि अर्को वालीबाट फाइदा लिन सकिन्छ । मुख्य वालीको लागत अन्य सहायक वालीबाट लिन सकिन्छ ।
निष्कर्ष
हो यो पुजिवाद विरोधी कृषि प्रणाली हो । यसले उत्पादनका साधानमा किसानको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्दछ । यो प्राकृतिक साधन र खाद्यान्नको व्यापारीकरणको पनि खिलाफ छ । यसले बहुराष्ट्रिय निगम र विश्व व्यवापार संगठनको पनि विरोध गर्दछ किनकी कृषि उत्पादन कम्पनीले उत्पादन गरी व्यापार गर्ने होइन यसको जिम्मा किसानलाई दिनुपर्छ भन्ने हो । यसो भन्दैमा चिया सवैले उत्पादन गर्नुपर्छ वा तराइका मानिसले स्याउ किनेर खान पाउदैन भन्ने होइन । निश्चयनै आवश्यकता भन्दा बढी उत्पादनको बजारीकरण र ठाउँ अनुसार आवश्यक खाद्यान्नको किनबेच पनि किसानको मुल्य र चाहना अनुरुप हुनुपर्छ भन्ने हो । यसले उत्पादन देखि बजार सम्म तथा मुल्यमा समेत किसानको निर्णय र आत्मनिर्भरतालाई बढी जोड दिएको मात्र हो । अझ पर्यावरणीय कृषि युवा र महिला किसानको आन्दोलन हो जसले युवालाई कृषिमा आकर्षित गर्न तथा महिला किसानको कृषिको भुमिकालाई सम्मान गर्न सहयोग गर्दछ ।
(प्रमेश पोखरेल, रा.स.स तथा विदेश विभाग सचिव, अखिल नेपाल किसान महासंघ)

Bhansar Bivag
Argakhachi Cement