निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सबै राजनीतिक दलहरुलाई पुनः आह्वान गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउन सबै राजनीतिक दलहरुलाई पुनः आग्रह गरेका हुन् ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी आईतबारसम्म दल दर्ता गर्न निर्वाचन आयोगले यस अघि नै सूचना जारी गरिसकेको छ । आयोगका प्रवक्ता शर्माले अव दल दर्ताका लागि म्याद थप गर्ने सम्भावना नरहेको पनि स्पष्ट पारे । उनले शुक्रबारसम्म ४४ वटा राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको पनि जानकारी दिए ।
संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लािग राजनीतिक दलहरुले निर्वाचन आयोगमा अनिवार्य दल दर्ता गराउनुपर्ने व्यवस्था छ । आयोगका प्रवक्ता शर्माले असार मसान्तसम्म राजनीतिक दलको रुपमा दर्ता भएका राजनीतिक दलहरुले मात्रै निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको पनि स्मरण गराए ।