प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्मितामाथि आँच पुर्याउने भन्दै रोक्न नेपाल सरकारलाई निर्देशन दिएको हो।मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था (विजक्राफ्ट) ले नेपालमा गर्न लागेको आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड) नेपालको स्वाधिनता, स्वत्नत्रता र राष्ट्रिय अस्मितामाथि आँच पुर्याउने खालको रहेको निष्कर्ष निकाल्दै तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको हो । ‘सरकारले सम्झौता त गरेको छैन तर, त्यसलाई हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले भनिन् ।
समितिले तत्कालका लागि यो अवार्डसँग सम्बन्धित कार्यक्रम रोक्न निर्देशन दिनुका साथै आगामी बैठकमा यससँग सम्बन्धित सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय समेत गरेको छ । सत्तारुढ दलकै सांसदहरु भिम रावल, अग्निप्रसाद सापकोटालगायतका नेतहरुले अवार्ड नेपालमा आयोजना गर्ने सरकारको निर्णयको विरोध गर्दै आएका थिए ।
सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिकोणबाट उचित नदेखिएको समितिको निष्कर्ष रहेको छ ।