ध्रुव बाबु सुवेदी
प्यारी छोरी चार्भी
यो पत्र मेरो पहिलो पत्र तिम्रो लागि लेख्दैछु । अहिले तिमी झोलुङ्गोमा बसेर रूदैछौँ । तिमी रोइरहँदा म लेख्दैछु । तिमी ठुली भएर यो पत्र पढनेछौ अनि उत्तर लेख्नेछौ । तिम्री आमा झोलुङ्गो हल्लाउँँदै छिन् । मैले तिम्री आमा र मेरो आमाबाट सिकेको देखेको महिलावादको कुरा गर्दैछु ताकी तिमिले क्रमभङ्गता गर्नेछौ ।
छोरी मैले जन्मदेखि आमाले बुबालाई ढोगेको देखि पाउको पानी खाएको देखि आमाले व्रत बस्नुभएको देखेँ तर बुबाले आमालाई ढोगेको, नमन गरेको, पूजेको, ब्रत बसेको देखिनँ । बुबाले भन्दा अगाडि खाना खानु भएको देखिन । मलाई थाहा छैन यी सारा रहस्य र दृश्यको समाधान । मलाई थाहा छ तिमी पनि यही परिवेशमा हुर्कनेछौ । यस्तै देख्नेछौ । तर म चाहन्छु मेरो छोरी फरक हुनेछिन् । आमा, हजुरआमा भन्दा फरक हुनेछिन् ।
मेरी छोरी बाबाजस्तै हिन्दूधर्मी हुनेछिन् तर हजुरआमा, आमालेजस्तै तीजको ब्रत बसेर पशुपति गएर हजार शिव लिङ्गहरूमा दुध चढाउने छैनन् , ढोग्ने छैनन् । यो भनेर पुरै नास्तिक पनि हुदिनँ । तर छोरी चर्च, मस्जिद, गुम्बा पनि जानेछिन् सबै धर्मको सार थाहा पाउनेछिन् । साइन्सले एनर्जी भनेर कुरा गर्छ त्यहि कुरा धर्मले देवताको शक्ति भन्दछ । यी दुवैको सार एउटै जस्तै छोरी नास्तिक र आस्तिक दुवै हुनेछिन् । मेरो पुर्खाले सिकाएको संस्कारलाई पनि बिर्सने छैनन् ।
म सानो छँदा आमाले खाना पस्किनु अघि थोरै खाना चुलोको, अगेनाको डिलमा राख्नु हुन्थ्यो । म सोध्थेँ, ‘किन त्यसो गर्नु भएको?’ आमा भन्नुहुन्थ्यो, देवतालाई चढाएको, पहिला देवतालाई चढाउनुपर्छ, पन्ध्र पुषमा खिर पकाउँदा होस् या सेल रोटी पकाउँदा त्यसरी नै देवतालाई पहिलेको सेल थालमा राखेर माथि भारमा या खोपामा राखेपछि मात्र हामीले खान पाउथ्यौँ । आमाले देवतालाई चढाएपछि सर्वश्रेष्ठ बुबा हुनुहुन्थ्यो छोरी । दोस्रो या पहिलो चोटी खाना बुबालाई दिइन्थ्यो । यो चलन थियो, छ र हुनेछ छोरी । किन, कसरी, केको लागि भनेर मलाई नसोध मसँग यस्को उत्तर दिने क्षमता छैन ।
चरेसथाल वरिपरि पानीको घेरो हाले पछि बुबाले थोरै खाना अगाडि राख्नु हुन्थ्यो । अनि मन्त्र भन्दै तिन गाँस अचम्मसँग खानुहुन्थ्यो । सबैले खाएपछि आमा खानुहुन्थ्यो । सबै भाडाकुडा, चुलोचौको गर्नुहुन्थ्यो । बुबा बाहिर निस्केर कान्छा तमाखु भरेर लेरा त भन्नुहुन्थ्यो । अनि फलैँचामा बसेर ट्वार्ट्वार् पार्नुहुन्थ्यो । आमा जुठो भाँडो बोकेर जानुहुन्थ्यो ।
मैले आजसम्म छोरी, आमाले दिदीले खाना खानु अगि बुबाले जस्तै जप गरेको देखिनँ । खानु अघि धोती फेरेको देखिन । जुन दिन मैले ब्रतबन्ध गरेँ जनै लगाएँ मैले पनि तिम्रो हजुरबाले जस्तै गर्न थाले छोरी । संस्कार बचाउन । तर थाहा छैन मलाई किन गर्दैछु । किन हो किन घाँटीमा छुँदा हात फुफु गर्न मन लाग्छ यही संस्कार मेरी छोरीले देख्नेछिन् तर तिमी नयाँ छोरी बन्नेछौ । छोरी मैले अहिलेसम्म केटीले जनै लगाएको देखिनँ । आमाले खाना खाने बेला बुबाले जस्तै जप गरेको, थाली वरिपरि पानीको घेरो राखेको देखिनँ । बिहान सबेरै उठेर बुबाले ढिकी जाँतो गरेको, दैलो पोतेको देखिनँ । यी सबै कुराहरू तिमिलाई यो पत्रमा भन्नुको मतलब मेरी छोरी अरू छोरीहरूभन्दा फरक चाहनु हो । मैले देखेकी केटीहरू आमाहरू, छोरीहरू, दिदीहरूभन्दा मेरी छोरी त्यति धेरै फरक त नहोस् तर यी सबै यथार्थहरू बुझ्नुपर्छ मेरी छोरीले ।
मैले अहिलेसम्म मन्दिरमा केटी पुजारी देखिनँ, छोरी र कुनै महाभारत, रामायण, गीता, पुरानहरूमा कसैले केटी पुजारी नहुन् भनेको पनि थाहा छैन । जहाँ पढ्छु महिलालाई सोधेको, बयान गरेको, फूलहरूको संज्ञा दिएको, सुन्दर, लजालु, कोमल आदि परिधिमा सीमित गरेको देखेँ तर पुरूषको बयानको परिधि देखिनँ छोरी ।
म पनि यही परिवेशमा जन्मेको छु तर केही आदर्श नारीहरूका कारण दर्शनको कुराहरू यो पत्रमा लेख्दैछु र मेरी छोरी यस्तो बनोस् भनेर मार्गदशन गर्न खोज्दैछु ।
तिम्रो बाबा विज्ञान शिक्षक हो छोरी, अहिले उच्च शिक्षामा रसायनशास्त्र (केमिस्ट्रि ) पढाउनु हुन्छ । जब मलाई मेरो कलेजमा एउटी केटी विद्यार्थीले टप गर्छे म खुशी हुन्छु । कुनै कार्यक्रममा केटी अगाडि मञ्चमा गएर बोल्छे, निर्धक्क भाषण गर्छे, जब केटीहरू सफल भएको देख्छु, म हर्षविभोर हुन्छु कि एक दिन मेरी छोरीले जित्छे । विद्यादेवी भण्डारी प्रथम राष्ट्रपति हुँदा, द्धारिका देवी ठकुरानी प्रथम मन्त्री बनेको पढ्दा, मैले राजनीति गरेकोले या कुनै पार्टीको कार्यकर्ता भएर खुशी बनेको होइन छोरी, मेरी छोरी पनि यहि क्षमता राख्छे भनेर खुशी भएको हो ।
मलाई डर छ तिमी पनि आमाले जस्तै कतै ब्रत बस्छौ की ! तीजमा भोकै व्रत बस्छौ की ! कहीँ कतै केही माग पाउने आशामा । बिहानै उठेर मन्दिर जान्छौ की ! पुरूषवाद भित्र अल्मलिन्छौ की !, यहाँ यस्तै छ तिम्री आमाले मेरो कपडा धुँदा नारी परिभाषित हुन्छिन् तर मैले तिम्री आमाको कपडा धुँदा मेरो उपहास हुन्छ छोरी । यो समाजमा मेरो खण्डन हुन्छ चोक चोक चौतारोमा ।
जब हाम्रो विवाह भयो तिम्रो आमा रूँदै रूँदै मेरो घर आइन् । यहाँ लाखौँ महिलाहरू तिम्री आमाजस्तै जन्म घर छोडेर कर्म घर (केटाको घर) जाने चलन छ छोरी । यहाँ पुरूषले घर छोडेर केटीको घर बसे समाजले घर ज्वाईँको नकारात्मक संज्ञा दिन्छ । म चाहन्नँ तिमी पनि यही समाजमा मलाई छोडेर जाने छैनौ । रूँदैरूँदै बेहुली बनेर । यो भन्नुको मतलब तिमी संस्कृतिको विरूद्ध लाग्नेछौ भन्ने हैन । यति थाहा पाउनेछौ संस्कृतिमा रहेको खाडल छ कहिल्यै नपुरिने ।
महिला राष्ट्रपतिलाई पुरूष सेनापतिले सलामी दिँदा लाग्छ हाम्रो इतिहास कायापलट हुँदैछ । घरमा बुबाले खाना पस्केको र आमा डाइनिङ्ग टेबलमा बसेर खानुभाको । भान्सामा पुरूषको उपस्थितिले यो सानो उदाहरण जस्तो लाग्छ, समाज परिवर्तनको, छोरी । यस्ता विषयवस्तु राख्दै गर्दा म चाहन्नँ की छोरी तिमी पुरै समाज परिवर्तन गर्ने छोरी बन्नेछौ, विद्रोह गर्नेछौ । हाम्रो संस्कृति, धर्म सबै विरूद्ध लागेर पुरूषवादको विरूद्ध लाग्नेछौ भन्ने म चाहन्नँ तर कमसेकम यी सारा यथार्थलाई मनन गर्नेछौ । यति तिमीजस्तै हजार छोरीहरूले बुझेपछि यी परिवर्तन थाहा नपाई आफ्mसेआफ आउनेछ छोरी । संसारलाई बदल्न आफू पहिला बदलिनेछौ थोत्रा ठर्राहरू समाजका कुरीतिहरू मान्ने छैनौ ।
जस्तो पानी र तेल मिसाउँदा तेल तैरिएर बस्छ त्यस्तै हामी सतहमा तैरिएका रहेछौँ । जब म विदेशको कन्फरेन्समा थिएँ त्यहाँ दुई धारको महिला देखँे, एक धार पानीजस्तै घुलेका घुलनशिल, अर्काे धार तेलजस्तै तैरिएका । हामी नेपाली तेल भयौँ कहिल्यै पानी बन्न सकेनौ छोरी । तर मेरी छोरी तेल पनि र पानी पनि बन्नेछिन् आशा छ । क्ष्ग्एब्ऋ को ठूलो कन्फरेन्सको ठूलो पार्टीमा सहभागी हुँदै गर्दा त्यहाँ हामी रम्न सकेनौ । चौरासी व्यञ्जन आए हामीलाई खिसी गरे, गए । हामीले खान सकेनौ किनकि हाम्रो त्यस दिन मंगलबारको ब्रत थियो । हामी शाकाहारी थियौँ । तर संसारका कुनाकुनाबाट आएका महिला वैज्ञानिक नाताली, क्रिस्टिनहरू चियर्स गर्दै गर्दा हामी छेउमा बसेर जुस मात्र लिँदै थियौ ।
विश्वमा दुई वर्ग रहेछ छोरी एक हामीजस्ता, अर्काे अरूजस्ता, म सोच्दैछु मेरी छोरी कस्ती हौली नेपाली छोरी जस्ती अथवा नाताली र क्रिस्टिन जस्ती, चाहना छ तिमी दुवै धार बोकेकी, समय सापेक्ष चल्ने छोरी हुनेछौ । यानिकी मंगलबार, सोमबार ब्रत पनि बस्नेछौ र त्यही दिनको पार्टीमा, कन्फरेन्समा चियर्स पनि गर्नेछौ । समयले तिमीलाई हैन तिमीले समयलाई चलाउँनेछौ । अटलमा सगरमाथा जस्तै अटल हुनेछौ र चलायमानमा झरना खोलाजस्तै बग्नेछौ । चराजस्तै उड्नेछौ विश्वभर तर गुणलाई बिर्सने छैनौ । तिमी साह्रै क्रान्तिकारी बनेर तसलिमा नसरिनजस्तै बनेर लज्जा, फ्रान्सेली प्रेमी लेख्ने छैनौ । देश निकाला पनि हुनेछैनौ । लेडी चटलीजस्तो पनि हुनेछैनौ । सलिना थापाले जस्तै खुलासा पनि दिने छैनौ । देशको लागि सहिद पनि हुने छैनौ । तिमीले बाँचेर केही गर्नेछौ । मलाई थाहा छ तिम्रो आफ्नै बाटो हुनेछ, सिद्धान्त हुनेछ तिमीलाई संसारका नारीहरूको इतिहास थाहा हुनेछ । आमा घरको दिलशोभाको व्यथा थाहा हुनेछ । माइती नेपालको अनुराधा कोइलारा, भृकुटी, तारा, सीताको इतिहास, विद्यादेवी भण्डारी जानकी मन्दिर जाँदाको परिवेश आदि इत्यादि ।
यी सारा मेरो पत्रको मर्म बुझ्नेछौ तिमी ठुली भएपछी मनन् गर्नेछौ । मैले तिम्रो फुपुहरू, आमा, हजुरआमा दिदीहरूलाई कहिल्यै यी यथार्थ, कुरितीहरू बुझाउन सकिनँ छोरी । उनीहरू अझै बोक्सीले टोकेका डामहरू देखाउँदै छिमेकीसँग रिसाँउछन् । यी अज्ञानता र अशिक्षाको जडहरू तिमीजस्ती छोरीहरू हुर्केपछि जानेछन् जरैदेखि अनि मेरो गाउँघरको परिवेश परिवर्तन हुनेछ ।
मैले स्कुल पढ्दा बन्दुक बोकेर राता रिवन लगाएर क्रान्ति गर्ने क्रान्तिकारी महिलाहरूको सपना पनि देखेँ, विधवा भएका महिलाहरूले लगाएको रातो कपडा चुरा धागो पनि देखेँ, सती प्रथाको इतिहास पनि पढँे, आमा दिदी बहिनीहरूले मात्र राती ४ बजे उठेर ढिकी जाँतो, चुलो चौको गरेको पनि देखँे । यी सारा इतिहास हुन् महिलाहरूको छोरी ।
अब तिमी ठुली हुनेछौ तिम्रो जन्मदिन मनाइन्छ । तिमीलाई यी समाज हरेक मान्छेहरूले तिमीलाई उपहार स्वरुप पुतली र रङ्गिन कपडा रोज्छन्, तर छोराहरूको लागि भने बन्दुक रोवट, गाडी, बाइकहरू रोज्छन् । हाम्रो समाजले सानो देखिनै छोरा र छोरीलाई हरेक पलहरुमा यी परिधि बनायो जसले छोरोलाई बहादुर र छोरीलाई काँतर बनायो ।
छोरीहरूलाई आधा आकास आधा धर्ति भन्ने गरिन्छ । तर मलाई मेरो छोरीलाई पुरा आकाश र पुरा धर्ती भन्न मन छ । नेपोलियन बोनापार्टले मलाई असल आमा देऊ म असल राष्ट्र दिन्छु भनेर भनेका थिए यी सारा मर्म म अहिले बुझ्दैछु ।
तिमी अलि बुझ्ने भएपछि तिम्री आमाले निधारमा टिका र सिउँदोमा सिन्दुर लगाएको देख्दा तिमीले भन्नेछौ आमा के यो बुबाले चाहिँ सिन्दुर र टिका किन नलगाउनु भएको । यस्तै छ चलन यहाँ छोरी केटीहरूले सिन्दुर टिकालाई आफ्नो आदर्श ठान्दछ पुरुषको तर पुरूषको आदर्श देख्दैन यहाँ महिलाको लागि ।
केटीलाई अनेक परिधि बनाएर राखिएको छ छोरी यहाँ । तिमी यो परिधि भित्र हुँदा हुँदै पनि समय सापेक्ष बाहिर पनि पुग्नेछौ । तिमी यही परिवेश र परिधि भित्र रहेर पनि तिमिले छलाङ मार्नेछौ दौडनेछौ, शिखर चड्नेछौ पासाङ ल्हामुले जस्तै ज्ञानको ज्योतिको, नैतिकताको, सफलताको धर्मको हासिल । अनि म मेरी छोरी भनेर गर्व गर्न पाउँला । अन्ततः मेरी छोरी ब्रत पनि बस्छे ब्रतकै दिन वाइन खाँदै चियर्स पनि भन्छे । जन्ति पनि जान्छे र मलामी पनि, धर्म पनि मान्छे विज्ञान पनि बुझ्छे ।
एउटै बगैचामा थरीथरी पूmलहरू देखेजस्तै मैले पनि थरिथरिका केटीहरू देखे छोरी । नववर्षको पूर्वशन्ध्यामा ठमेलको दोहोरी साँझमा र डिस्कोमा लिप्त भएका केटीहरू, दशैँ मनाउन गाउँमा जाँदा गुन्यू चोली लगाएर पानि भर्न गएका पधेर्नीहरू, मेला पात अनि धान रोप्न गएका रोपारहरू रोधिमा गीत गाएका केटीहरू मारूनी नाचेका मगर्नीहरू र विदेशको पवहरूमा ठुलाठुला महल अगाडि सलबलाएका परीहरू, हिउन्डे वीचमा नाङ्गिएका नारीहरू देखँे अनि लाग्यो एउटै विश्वमा हजार परिचय बोकेको महिलाहरू छन् । हामी मात्र आधा आकाश आधा धर्ती भन्दैछौँ छोरी । यहाँ त हजार आकास हजार धर्ति भित्र हजारौँ नारीहरू छन् ।
कुनै दिन यो पत्र छोरीले बुझ्नेछिन र बाबालाई पत्रको उत्तर लेख्नेछिन भन्ने आशामा ।
उहि तिम्रो माया गर्ने बाबा,
ध्रुव बाबु सुवेदी