आन्दोनकारी सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन

प्रकासित मिति: ८ फाल्गुन २०७४, मंगलवार १५:३१

वीरगन्ज राजधानी संघर्ष समिति र २ नं प्रदेश सरकारबीच आज वीरगन्जमा भएको वार्ता बिना सहमति नै सम्पन्न भएको छ ।

वीरगन्जको होटल भिष्वामा २ नं प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल र संघर्ष समितिका पदाधिकारीबीच भएको वार्तामा दुवै पक्ष आ–आप्नो अडानमा कायम रहेको कारण सहमति जुट्न नसकेको हो ।

वार्ता सम्पन्न भएपनि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सोनलले वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले वीरगन्जलाई राजधानी बनाउनुपर्ने एक सूत्रीय मागसहित विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएको संघर्ष समितिले राखेको माग पूरा गर्न संवैधानिक जटिलता रहेकाले सहमति जटन नसकेको बताउनुभयो ।

उहाँले संविधानको धारा, २८८ को उपधारा, २ बमोजिम प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी निर्धारण गर्ने व्यवस्था रहेको र सरकारले सो संवैधानिक व्यवस्थालाई पूरा गर्न नसक्ने जानकारी दिनुभयो ।

वार्ताका क्रममा आन्दोलनकारी पक्षबाट सकारात्मक प्रतिक्रिया पाए पनि सहमति जुट्न नसकेको मन्त्री सोनलले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले जारी आन्दोलनलाई सम्बोधन गर्न सरकार वार्तालाई पुनः निरन्तरता दिने जानकारी दिनुभयो ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै संघर्ष समितिका संयोजक सुरेन्द्र चौधरीले राजधानीको माग राखी वीरगन्जमा भएको आन्दोलन आर्धहीन नभएको सरकारी वार्ताटोलीको वीरगन्जमा भएको उपस्थितिले प्रमाणित गरेको प्रतिक्रिया दिँदै उहाँले आफूहरुको एक सूत्रीय माग रहेको र त्यसलाई पूरा गराउन आन्दोलनलाई जारी राख्ने जानकारी दिनुभयो ।

वीरगन्जमा विगत डेढ महिनादेखि भएको आन्दोलनको स्वरुपलाई समयसापेक्ष परिवर्तन गर्दै निरन्तरता दिने संयोजक चौधरीले बताउनुभयो । सरकारसँग वार्ता र संवादको क्रमलाई जारी राख्दै आन्दोलनलाई थप सशक्त बनाउने संयोजक चौधरीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो

Bhansar Bivag
Argakhachi Cement