आफूखुसी भाडा लिने सवारीसाधन कारबाहीमा

प्रकासित मिति: ९ भाद्र २०७३, बिहीबार १७:१३

काठमाडौं । धुलिखेल हुँदै सिन्धुली–बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको भेटिएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ । विभागले २०७२ माघ २४ मा समायोजन गरेको भाडा लागू नभएपछि यात्रुको गुनासो बढ्दै आएको थियो । विभागले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सो मार्गका यातायात व्यवसायीले तोकेअनुसार भाडा लिन आनाकानी गरेकाले साउन तेस्रो साता सूचना प्रकाशित गरी बढी भाडा नलिन सचेत गराएको थियो ।
विभाग प्रवक्ता वसन्त अधिकारीले सो मार्गमा सञ्चालन हुने सवारीसाधनले तोकिएभन्दा दोब्बर भाडा उठाइरहेको गुनासो आएको बताए । विभागको साउन २१ को निर्णयले गत माघ २४ मा लागू गरिएको भाडादरभन्दा बढी नउठाउन सम्बन्धित सबैलाई सचेत गराएको थियो ।
‘तोकिएको भाडा लागू भए नभएको गुनासो आए पनि अनुगमनका लागि विभागसँग यातायात निरीक्षक छैनन्, अन्तर्गतका कार्यालयमा जनशक्तिको पनि अभाव छ, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा यातायात क्षेत्रलाई व्यवस्थित गर्न राखिएका प्रावधान कार्यान्वयन नहुँदा यात्रुले तोकेबमोजिम भाडा तिर्न बाध्य हुनुपरेको छ’ उनले भने ।
काठमाडौंदेखि धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ८८ किमी मार्गको भाडा ५ सय १२ रुपैयाँ तोकिए पनि व्यवसायीले एक हजार रुपैयाँभन्दा बढी उठाउने गरेका छन्् । नारायणघाट–मुग्लिन सडक घुमेर जाँदाभन्दा बढी भाडा व्यवसायीले असुल्ने गरेको यात्रु विनित शर्माको गुनसो छ । तोकिएभन्दा बढी भाडा लिन व्यवसायीले अटेर गरे अनुगमन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement