माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभाका उम्मेदवार (काठमाडौं क्षेत्र नं. २)
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । आफूलाई मतदाताको आपार माया रहेकाले भारी मतले विजयी हुने आत्मविश्वाससाथ बताउने नेता नेपालले आफू विजयी भएमा यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । यही मंसिर २१ गतेको निर्वाचनका लागि भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका नेता नेपाल निकै व्यस्त रूपमा भेटिए । प्रस्तुत छ चुनावी अभियानलाई नै केन्द्रित रही गरिएको कुराकानी–
आफ्नो गृहजिल्ला रौतहट छाडेर काठमाडौंबाटै उम्मेदवार बन्नुभयो, यसको केही कारण ?
म रौतहटमा जन्मिए, हुर्किएँ । तर पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै लामो समय तराई र काठमाडौं दुवैलाई आफ्नो कर्मथलो बनाउँदै आएँ । म ३४ वर्षदेखि काठमाडौं– २ मा पर्ने कोटेश्वरको स्थायी बासिन्दा हुँ । यद्यपि, राजनीतिमा को कहाँ जन्मियो, हुर्कियो भन्ने कुराभन्दा पनि उसले निष्ठाका साथ के कति योगदान पु¥यायो, जनताको हितमा कति समर्पित भयो, सामाजिक–आर्थिक परिवर्तनमा र सिंगो राष्ट्रको विकास निर्माणको अगुवाइ गर्ने सन्दर्भमा कति योगदान पु¥यायो भन्ने कुरा महत्वपूर्ण हुन्छ । यी सबै सन्दर्भमा म काठमाडौं–२ का जनतासँग जनप्रतिनिधिकै हैसियतमा प्रत्यक्ष रुपले गाँसिदै आएको छु । त्यसैले पार्टीले यी सबै पक्षको मूल्यांकन गरेर नै मलाई काठमाडौं– २ को उम्मेदवार बनाएको हो भन्ने मलाई लाग्दछ ।
तराईमा एमालेको भोट घटेको बेला निर्वाचन जित्न सहज हुने ठानेर काठमाडौँ– २ मा उठ्नुभएको भन्ने पनि सुनिन्छ नि ?
हा..हा.. (हाँस्दै) मैले तपाईंको अघिल्लो प्रश्नमै कतिपय कुरा प्रष्ट पारिसकेको छु । त्यसैले सहज स्थितिका कारण काठमाडौं २ रोजेको भन्ने मिथ्या आरोपको खण्डनमण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन । हामीले पार्टीको संस्थागत निर्णय मान्ने हो । हिजो पार्टीले दुईओटा निर्वाचन क्षेत्रबाट निर्वाचित उम्मेदवारले बढी मतान्तरमा जितेको निर्वाचित क्षेत्र छाडेर कम मतान्तरमा जितेको क्षेत्र नछाड्ने नीति लियो । पार्टी प्रमुख भइसकेको व्यक्ति तराईबाट निर्वाचित भएकोले राष्ट्रिय सन्देशका हिसाबले तत्काल रौतहट छाड्न नहुने स्थायी समितिले निर्णय ग¥यो । त्यसैले करिब १० हजार मतान्तरमा विजयी बनेको काठमाडौं– २ कानुनी र प्राविधिक हिसाबले छाडेको थिएँ । यहाँका जनताको विश्वास जितेको जनप्रनिधिको हैसियतमा यहाँका समस्या समाधान गर्ने, विकास निर्माणका काममा अगुवाइ गर्ने मात्र होइन, भावानात्मक रुपमा पनि म कहिल्यै पनि अलग भइनँ ।
यस क्षेत्रको विकास निर्माणको अगुवाई गर्ने सन्दर्भमा, प्रत्येक वडा–टोलवासी जनतासँगको प्रत्यक्ष भेटघाट, समस्या समाधानका लागि पहल लिने कुरामा म निरन्तर लाग्दै आएको छु । रौतहटको विकास निर्माणको काममा पनि उतिकै क्रियाशील छु । मेरो चिन्ता र सपना–आर्थिक रुपले सम्पन्न समृद्ध मुलुक निर्माण गर्ने हो, साथै काठमाडौं– २ लाई नमूना क्षेत्रका रुपमा विकास गर्ने हो । यस काममा म हिजो पनि क्रियाशील थिएँ, आज पनि छु र भोलि पनि निरन्तर रुपमा क्रियाशील रहनेछु ।
तपाईलाई चुनाव जिताएर काठमाडौँ क्षेत्र नम्बर २ का जनताले के पाउँछन् ?
हामीले संविधान निर्माणपश्चात् राजनीतिक रुपमा युगान्तकारी परिवर्तन गरेका छौं । क्रान्तिको एउटा चरण पुरा गरेका छौं । समाजवादसम्मको लक्ष्य किटान गर्दै संविधानमा जनताका राजनीतिक अधिकारहरु सुनिश्चित गरेका छौं । अब आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्ध मुलुक निर्माण गर्ने अर्को चरणमा हामी प्रवेश गरेका छौं । यो कामको अगुवाई चुनावपछि बन्ने एमाले र माओवादी केन्द्रको वाम गठबन्धन सरकारले गर्नेछ । काठमाडौं– २ ऐतिहासिक, धार्मिक–सांस्कृतिक र पयर्टकीय दृष्टिले सम्पन्न क्षेत्र हो । त्यसैले यी समग्र कुराको विकासका लागि गुरुयोजनाका साथ काम गर्ने मेरो योजना छ ।
म प्रधानमन्त्री भएको बेला सडक विस्तार, पूर्वाधार विकास, प्राविधिक शिक्षालय, पोलिटेक्निक कलेजको स्थापनालगायतका धेरै काम भएका छन् । ती सबै कामलाई अझ पूर्णता दिनेतर्फ ध्यान केन्द्रित गर्नेछु । भूकम्पपछि क्षत–विक्षत बनेको साँखु क्षेत्रको ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षण र विकासका लागि पुननिर्माणलाई तीब्रता दिनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । शंखरापुर–साँखु राजधानी काठमाडौंँलाई चीनको तिब्बतसँग जोड्ने महत्वपूर्ण ऐतिहासिक पुरानो व्यापारिक नाका पनि हो । त्यहाँको सडकलाई चीनसम्म विस्तार गर्ने, साँखुमा भृकुटीको ठूलो मूर्ति स्थापना गरेर आन्तरिक र बाह्य पयर्टकको आकर्षण केन्द्र बनाउने, साली नदीको संरक्षण गर्दै ऐतिहासिक धार्मिक र पयर्टकीय नगरका रुपमा विकास गर्ने, नाङ्लेभारे–जहरसिंहपौवा–लप्सीफेदी क्षेत्रलाई ‘कृषि उत्पादन जोनका रुपमा संरक्षित गर्दै विकास गर्ने, यो क्षेत्रलाई पयर्टकीय गन्तव्यस्थलमा परिणत गर्ने, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालाई आधुनिक ‘स्याटलाइट स्मार्ट सिटी’का रुपमा विकास गर्ने, मूलपानीको अन्तराष्ट्रिय क्रिकेट मैदानको काम छिटो सम्पन्न गर्ने, एअरपोर्टको जग्गा अधिग्रहणमा परेका पुरानो सिनामंगल र जडिबुटी क्षेत्रका जनतालाई छिटोभन्दा छिटो उचित मुआब्जासहित पुनस्र्थापित गर्ने मेरो योजना रहेको छ ।
त्यस्तै, तिनकुनेको जग्गाको उचित मुआब्जा दिलाउने, कोटेश्वर क्षेत्रको खानेपानीलगायतको समस्या समाधान गर्ने, मनोहरा कोरिडोर निर्माण सम्पन्न गरी हरित क्षेत्रका रुपमा विकास गर्ने, प्रत्येक वडा र टोलका सार्बजनिक जग्गाहरुमा वृद्ध–वृद्धाहरुका लागि चिकित्सा सेवासहितको आश्रम, बाल उद्यान निर्माण गर्ने, यस क्षेत्रको उपयुक्त स्थानमा आधुनिक चिकित्सा सेवासहितको अस्पताल निर्माण गर्ने, मेलम्ची खानेपानी आयोजनाको पाईपलाईन बिस्तार गर्दै २ नम्बर क्षेत्रका जनतालाई मेलम्चीको खानेपानी उपलब्ध गराउन पहल गर्नेलगायतका विषयलाई मैले योजनाका रुपमा अघि सारेको छु ।
युवा वर्गलाई नेतृत्व हस्तान्तरणको कुरा उठ्ने गरेको छ, यसमा तपाईको धारणा के हो ?
२० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा युवाहरुको नेतृत्व विकास अवरुद्ध भएको थियो । लामै समयपछि भए पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा धेरै युवाहरु जननिर्वाचित प्रतिनिधिका रुपमा आउन सफल भएका छन् । जहाँसम्म, केन्द्र र प्रदेश तहको संसद र पार्टीको नेतृत्व तहमा युवाहरुलाई स्थापित गर्ने कुरा छ, त्यसका लागि सबैभन्दा पहिले हामीले ‘सिस्टम’ स्थापित गर्नुपर्नेछ । किनभने नेतृत्व कसैले कसैलाई हस्तान्तरण गर्दैमा एकैचोटी विकास भइहाल्ने होइन । हामीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अंगिकार गर्दै आएका छौं । पुजिपति वर्गको पार्टीसँग पनि प्रतिस्पर्धा गर्दै जनताको मन जितेर अघि बढ्ने, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पनि श्रेष्ठता हासिल गर्न सकिने ‘सिस्टम’लाई अवलम्बन गरिरहेका छौं । यसलाई अझ दृढताका साथ कार्यान्वयन गर्दै जाँदा क्रमशः युवाहरु अझ बढी नेतृत्वमा स्थापित हुँदै जानेछन् भन्नेमा म पूर्ण विश्वस्त छु ।
तपाईलाई नै मतदाताले किन भोट हाल्नुपर्ने ?
यस क्षेत्रको विकासका निम्ति र समग्र मुलुककै विकासका निम्ति को आवश्यक छ र किन जिताउने भन्ने सवाल मुख्य हो, यो मतदाता स्वयंले मूल्यांकन गर्ने कुरा हो । मेरो जीवन खुल्ला किताबजस्तै छ । म निष्ठा, इमान्दारिता, पारदर्शिता, सकृयता र स्वाभिमानमा विश्वास गर्ने व्यक्ति हुँ । जनविरोधी क्रियाकलापसँग आजसम्म सम्झौता गरेको छैन ।
को आवश्यक छ र कसलाई भोट हाल्ने भन्ने पैmसला यस क्षेत्रका जनताले नै दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । समयको प्रवाहसँगै जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्दछु । जनताको हरेक दुःख–सुःखसँग गाँसिन चाहन्छु ।
तपाईहरुले जारी गरेको घोषणापत्र कार्यान्वयन हुन्छ त ?
सपना बाँड्ने मात्र होइन, विपनामा परिणत गर्ने नै हो । हामीले गरेका सबै घोषणा कार्यान्वयन गर्नका लागि हुन् र बाँडेका सपना सबै विपनामा साकार पार्नका लागि हुन् । हामीले गरेर देखाउनेछौं ।
साम्यवादी व्यवस्थाका लागि वामपन्थी गठबन्धन गर्नुभएको हो ?
अधिनायकवाद वा साम्यवादी व्यवस्थाका लागि गठबन्धन बनाइयो भन्ने जुन आरोप छ, त्यो केवल पराजित र हतास मानसिकताको अभिव्यक्ति मात्रै हो भन्ने मलाई लाग्दछ । के हामीले पनि कांग्रेसको जस्तै लोकतन्त्रको नारा जपेर नागरिक सधँै गरिब, तर मुठीभरका व्यक्ति मात्रै धनी र सुखी हुने लोकतन्त्रको व्याख्या गर्नुपर्ने ?
हामी सबै नेपाली धनी र सम्पन्न हुने सामाजिक न्यायसहितको लोकतन्त्र स्थापित गर्न चाहन्छौं । म प्रष्टसँग भन्न चाहान्छु– हामी आर्थिक उदारीकरणका डम्फू बजाएर देशका उद्योग–धन्दा र कलकारखानाहरु कौडीका रुपमा बेच्ने, देशको स्वाभिमान समाप्त पार्ने, लाखौं युवाहरुलाई खाडी मुलुकको चर्को घाममा श्रम गर्न पठाउने, दलित, भूमिहीन, सुकुम्बासी, हलियाहरुलाई सँधै बाँधा मजदुर बनाउने लोकतन्त्रको विपक्षमा छौं । जमिनको न्यायोचित वर्गीकरण, कृषिको आधुनिकीकरण गरेर उत्पादकत्व बढाउँदै समुचित वितरण प्रणाली स्थापित गर्ने, देशलाई समुन्नत बनाउने लोकतन्त्रको पक्षमा छौं । शिक्षा नीतिमा आमूल परिवर्तन गर्दै देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने, शिक्षालाई श्रम, शीप र रोजगारसँग जोड्ने अभियानमा छौं, योजनामा छौं ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्र, लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई व्यावहारिक रुपमै स्थापित गर्न चाहन्छौं । शिक्षा नीतिमा आमूल परिवर्तन गर्दै देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने, शिक्षालाई श्रम, सीप र रोजगारसँग जोड्ने अभियानमा छौं, योजनामा छौं । त्यसैले कांग्रेसका नेताहरु वाम गठबन्धनबाट भयभित हुनुभएको छ । म उहाँहरुलाई पराजित मानसिकताले विक्षिप्त बनेर होइन, आफ्ना नीति कार्यक्रम र योजनाका आधारमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन आह्वान गर्दछु ।
माओवादीसँगको पार्टी एकता कत्तिको सम्भव छ ? चुनाव जित्नका लागि मात्रै पार्टी एकताको नौटंकी भएको हो कि ?
हामीले चुनाव जित्नैका लागि यस्तो नौटंकी गर्नु जरुरी नै छैन । पार्टी एकता सम्भव छ र यो हुन्छ नै । शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाबाट समाजवादसम्म पुग्ने लक्ष्य तय भइसकेको छ । चुनावलगत्तै विगत आन्दोलनको समीक्षा र बाँकी सैद्धान्तिक प्रश्नहरुको हल गर्नुका साथै सांगठनिक संरचनामा कुरा मिल्ने बित्तिक्कै एकीकरण सम्पन्न हुनेछ ।
अन्त्यमा, आमजनतालाई के भन्न चाहनुहुन्छ ?
हामीले मुलुकमा ठूलो राजनीतिक परिवर्तन गरेका छौं । अब मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक–सामाजिक रुपान्तरणको महाअभियान संचालन गर्नु छ । त्यस महाअभियानलाई सफलीभूत पार्नका निम्ति कायम भएको वाम गठबन्धनलाई आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतका साथ विजयी गराउनुहुन सबैमा हार्दिक आह्वान गर्दछु ।