काठमाडौं, सोलुखुम्बुको इम्जा हिमतालको पानीलाई निकास दिन थालिएको छ । नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजेदेखि पानीको निकास दिन थालेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार आउँदो १५ गतेसम्ममा ३ दशमलव ४ मिटर पानी घटाउने योजना छ । यो क्रममा दूधकोसी नदीको तटीय क्षेत्रमा पानीको निकास बढ्न सक्ने भएकाले त्यस आसपासका बासिन्दालाई सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको इम्जा फुट्ने जोखिम बढेपछि त्यसको पानीलाई निकास दिन थालिएको उहाँले बताउनुभयो । दूधकोसी नदीको तटीय क्षेत्रबाट हिमतालको पानी बग्ने भएकाले त्यस आसपास र सोलुखुम्बुको छुखुम्देखि जुभिङसम्मका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।