निमुखा, गरिब, असाहयहरूका लागि महिनामा एकपटक चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्ने
काठमाडौं । युवा चिकित्सकहरूको संस्था युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सोमबार स्वयम्भुस्थित इल्डर होममा रहेका ३५ जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको हो ।
आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको पहुँचबाट टाढा रहेका आश्रमका ती वृद्धवृद्धाहरूलाई डा. चन्दन रमन र डा. घनश्याम चापागाईं नेतृत्वको युवा चिकित्सको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
‘राष्ट्र विकासको लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यय संस्थाले इल्डर होममा रहेका ६० बर्ष माथि उमेरका बृद्धाहरूको स्वास्थ्य परिक्षण गर्दा स्वास प्रश्वास सम्बन्धी दमको रोग भेटिएको युनाईटेड नेश्नल मेडिकल सोसाईटी अर्फ नेपालका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।
सो स्वास्थ्य शिविरका अवसरमा चिकित्सकहरूले दम रोगको बारेमा जानकारी दिनुका साथै वृद्धा अवस्थामा आईपर्ने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक प्रशिक्षण समेत गरे । साथै त्यस्तो समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिएका थिए ।
सो अवसरमा स्वास्थ्य चेकअपपछि उनिहरूलाई औषधी बितरण गर्नुका साथै पौष्टिक आहार, दुध, फलफुल पनि बितरण गरेको इल्डर होमका अध्यक्ष लाक्पा टेरसिङ लामाले जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर गरिएको स्वास्थ्य शिविरपश्चात डा.चन्दन रमनले समाजमा रहेका निमुखा, गरिब, असाहयहरूको लागि महिनामा एकपटक चिकित्सकहरूले निःशुल्क स्वास्थ परिक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘यदि यसो गर्न सकिए सामान्य अवस्थामा नै रोग पहिचान हुने र उपचार गर्न समेत सजिलो हुने भएकाले आम नागरिक आफ्नो स्वास्थ्यबारे बेलैमा सचेत हुनुपर्छ ।’
डा. रमनका अनुसार हरेक चिकित्सकले महिनामा एक÷दुई घण्टा समय निकालेर निःशुल्क स्वास्थ्य जाँच गरे देशलाई नै रोगमुक्त राष्ट्र बनाउन सकिन्छ । स्वस्थ नागरिकलाई राष्ट्र विकासमा लगाउन सकिन्छ । तसर्थ यसको लागि राज्य स्तरबाटै पहल हुनुपर्नेमा उनले जोड दिए ।
इल्डर होमका अध्यक्ष लाक्पा टेरसिङ लामाले असहाय आमाबुबा रहेका यस आश्रममा आएर स्वास्थ परिक्षण गरेकोमा चिकित्सक टोलीप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तो पवित्र सेवा–कार्यमा संलग्न भइरहन चिकित्सकहरूलाई सुझाव दिए ।
२०७४ सालमा स्थापना भएको युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालमा अहिले ५० जना चिकित्सक रहेका छन् । त्यस्तै २५ जना नर्स र २५ जना अन्य क्षेत्रका स्यंसेवकहरूको संलग्नताबाट अस्पताल चलेको छ । संस्थाको मुख्य सल्लाहकारमा काठमाडौं विश्व विद्यालयका प्रो.डा. विभूति रन्जन झा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार, विगत १० वर्षमा जाडोको समयमा दमको रोग बढ्ने गरेको छ । दम रोगले सबैभन्दा बढी वृद्धवृद्धालाई सताउने गरेको छ ।