‘उत्तरकोरियाको उच्चस्तरीय भ्रमण सफल’ अन्तर्राष्ट्रिय शान्ति, मित्रता र आपसी हितका बारेमा छलफल

प्रकासित मिति: ४ भाद्र २०७४, आईतवार १६:२४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै भएको उत्तर कोरियाको उच्चस्तरीय संसदीय टोलीको भ्रमण सफल रहेको बताएका छन् । उनको नेतृत्वमा उच्चस्तरीय संसदीय टोलीका सदस्यहरूको भ्रमण टोली उत्तरकोरियाको साताव्यापी भ्रमण गरी स्वदेश फर्किएको छ ।
उत्तरकोरियाको राजधानी प्योङ्गयाङ्गमा त्यहाँका उच्चस्तरीय नेता तथा सांसदसँग नेपालबाट गएको सांसदहरुको टोलीले छलफल गरेको थियो । छलफल शान्ति र मित्रता विकासमा केन्द्रित रहेको नेता नेपालले जनाएका छन् । नेपालबाट गएको उच्चस्तरीय भ्रमण टोलीमा पूर्वप्रधानमन्त्री नेपालसँगै पूर्वमन्त्री एकनाथ ढकाल, सांसदहरू हरिबोल गजुरेल, छायाँ शर्मा पन्तलगायत १० जना रहेका थिए । एसियाली सांसदहरूको भेलामा सहभागी हुन उनीहरू उत्तरकोरिया पुगेका थिए ।
भेलामा पूर्वप्रधानमन्त्री नेपालले शस्त्र न्यूनीकरणका विषयमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचमा देखिएको तनावलाई कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न आग्रह गरेका थिए । उनले उत्तरकोरियामा आफू विश्वमा शान्ति स्थापना हुनुपर्छ भन्ने उद्देश्य बोकेको कार्यक्रममा सहभागी भएको स्मरण गराउँदै आपसी समझदारीबाटै शान्ति कायम राख्नुपर्नेमा जोड दिए ।
भ्रमण टोलीले उत्तर कोरियाली सरकारका प्रतिनिधिका साथै त्यहाँको कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूसँग समेत भेटघाट गरेको सांसद समेत रहेका पूर्वमन्त्री ढकालले द युनिभर्सल टाईम्स्लाई बताए ।
नेपालमा अहिले बाढीपहिरोले भएको जनधनको क्षति स्मरण गर्दै उनले भने, ‘उत्तर कोरियाले बाढी पहिरोको चपेटामा परेका १५ हजार नागरिकलाई तीन महिनामै आवासको व्यवस्था गरेको रहेछ, त्यसबाट नेपालले पनि सिक्नुपर्छ ।’
भ्रमण टोलीले ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेट’ नामक कार्यक्रममा पनि सहभागिता जनाएको थियो । नेपाली प्रतिनिधि मण्डलले उत्तरकोरियाली सुप्रिम पिपुल्स एसेम्लीका अध्यक्ष किम योङ्ग नाम, बर्कस पार्टीका उपाध्यक्ष एवम् सुप्रिम पिपुल्स एसेम्लीका परराष्ट्र मामिला समितिका अध्यक्ष रि सु योङ्गसँग पनि भेटघाट गरेको भ्रमण दलका सदस्य ढकालले बताए । साथै किम इल सुन विश्वविद्यालयका अध्यक्ष एवम् उच्च शिक्षा मन्त्रालयका मन्त्री थ्यो योङ्ग चोल, उत्तर कोरिया एशिया संसदीय समुहका अध्यक्ष किम जोन सुक लगायतका नेताहरूसँग भेट र छलफल भएको थियो । ती सबै भेट तथा छलफलमा आपसी द्विपक्षीय हितका बारेमा कुरा भएको ढकालले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement