उद्धार र राहत संकलन कार्यमा जुट्न परिवार दलको आह्वान

प्रकासित मिति: ३० श्रावण २०७४, सोमबार ०३:३४

बाढी–पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त, सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३० साउन । केही दिनदेखि परिरहेको भीषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति नेपाल परिवार दलले गहिरो दुःख व्यक्त गरेको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, चितवन, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कंचनपुर लगायतका जिल्लाहरु बाढीबाट प्रभावित छन् । त्यस्तै प्रदेश न. १ का ताप्लेजुङ, पाँचथर, धनकुटा, प्रदेश नं. ३ का नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक लगायतका जिल्लामा पहिरो जाने क्रम यथावत छ । यी भयावह प्राकृतिक प्रकोपका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, बिजुलीबत्ती लगायतका सुविधाहरु समेत अवरुद्ध भई स्थिति झन् भयावह बनेको छ । यस विपतको घडीमा प्रभावित सबै नेपालीलाई संयमता अपनाउन परिवार दलले आग्रह गरेको हो ।
‘बाढी, पहिरो तथा डुबानबाट दर्जनौँ मानिसको मृत्यु भएको, केही बेपत्ता र घाइते भएको, हजारौँ नागरिक विस्थापित तथा यातायात र हवाई क्षेत्र अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गरेको छ,’

दलका कोषाध्यक्ष एवम् सांसद मिलन कुमारी राजबंशी परिवारद्वारा जारी प्रेसनोटमा भनिएको छ, ‘दलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।’ राष्ट्रले ठूलो प्राकृतिक प्रकोप भोगिरहेको समयमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी तराई मधेसमा बाढी र डुबान तथा पहाडी क्षेत्रमा पहिरोमा बेपत्ता भएकाको छिटो खोजी गर्न, बाढी–पहिरोमा परेका पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न नेपाल परिवार दलले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
परिवार दलले जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको आवश्यकताअनुसार खोज, उद्धार र राहत कार्यमा लाग्न सरकार तथा सरोकार भएका सबै पक्षलाई आग्रह गरेको छ ।

अहिलेसम्म विपद्बाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । ३६ जना बेपत्ता भएका, करिब १९ हजार घरपरिवार विस्थापित भएका र ७२८ घर पूर्णरुपमा क्षति भएका तथा दुई हजार १५३ घर आंशिक क्षति भएकामा परिवार दलले दुःख व्यक्त गरेको छ ।
परिवार दलले विपद् व्यवस्थापन र मानवीय सहायतामा खट्ने नेपाल सरकार, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई तत्काल प्रभावकारी कदम चालेर प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिको उद्धार र राहत कार्यमा तत्काल जुट्न आग्रह गरेको छ ।
प्राकृतिक विपद्पछि देखापर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट बच्न चिकित्सकको अस्थायी टोलीको समेत तत्काल व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ । एक नेपालीको दुःखमा अर्को नेपालीले सघाउने नेपालीको गौरवपूर्ण संस्कार भएको स्मरण गर्दै परिवार दलले बाढी–पहिरो पीडितको उद्धार र राहत कार्यमा लाग्न दलले आफना सम्पूर्ण नेता तथा कार्यक्रताहरुलाई आग्रह गरेको छ । साथै दलले अन्य पार्टीका कार्यकर्ता एवं सचेत र सक्षम नेपाली युवाहरुलाई स्वयंसेवी भावनाले पीडितको उद्धार तथा राहत संकलनमा जुट्न आह्वान समेत गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement