उद्योग क्षेत्रमा परिणाममुखी काम हुन सकेन

प्रकासित मिति: १८ श्रावण २०७४, बुधबार १३:४४

काठमाडौँ, १८ साउन । उद्योग मन्त्रालयले मुलुकको उद्योग क्षेत्रमा परिणाममुखी काम गर्न नसकेको सांसदहरुले बताएका छन् ।

व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिअन्तर्गतको प्रतिवेदन एवं निर्णय अनुगमन कार्यान्वयन अनुगमन उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले मन्त्रालयले समितिले दिएको निर्देशनलाई अटेर गरेको आरोप लगाएका छन् ।

उपसमिति संयोजक लीला श्रेष्ठले देशमा दिनदिनै बढ्दै गएको व्यापार घाटालाई कम गरी बेरोजगार युवालाई रोजगारको प्रबन्ध मिलाउने काममा तत्काल लाग्न मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र (सेज) ऐनलाई तत्काल लागू गर्नुहोस् ।”

बैठकमा सांसद चन्द्र महर्जनले समितिले विभिन्न समयमा दिएका निर्देशन उद्योग मन्त्रालयले पालना नगरेको बताउनुभयो । मुलुकको विकासका लागि उद्योग क्षेत्रको विकास आवश्यक रहेको हुँदा यसको विकासका लागि गम्भीर हुन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

सांसद नारायणबहादुर कार्कीले उद्योग मन्त्रालयले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने कुरा गर्ने तर विदेशी वस्तुलाई प्रोत्साहन दिने गरेको बताउनुभयो । उहाँले युवालाई रोजगार दिने, मुलुकलाई आत्मनिर्भर बनाउन मन्त्रालयले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले उद्योग क्षेत्र देशको आर्थिक विकासको मुख्य क्षेत्र भएकाले उद्योग क्षेत्रको काम तीव्र गतिमा गर्नुपर्ने बताउनुभयो ।

सांसद जनकबहादुर बुढाले उद्योग क्षेत्रमा परिणामुखी काम गर्न मन्त्रालयलाई सुझाव दिनुभयो । सांसद कान्ता भट्टराईले नेपालमा प्रशस्तमात्रामा विदेशी लगानी भित्रिए पनि उक्त लगानीको सही उपयोग हुन नसकेको बताउनुभयो ।

उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले समितिले दिएका निर्देशनमध्ये अधिकांश मन्त्रालयले पालना गरेको बताउनुभयो । उहाँले समितिको निर्देशनअनुसार मदिरा उद्योगको इजाजत रोक्का, नयाँ ग्यास उद्योग इजाजत रोक्का, स्वदेशी उद्योगलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

Bhansar Bivag
Argakhachi Cement