काठमाण्डौ. निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधानमन्त्री कमल थापासँग स्पष्टीकरण मागेको छ । आयोगको आचारसंहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भोट मागेकाले उपप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते मध्यरातिदेखि मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा भोट मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय प्रजातन्त्र पार्टीलाईसमेत दिइएको छ ।