काठमाडौँ, १ भदौ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओबीच आज बेइजिङमा भेटवार्ता भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र ताओबीच नेपालको विकास प्रयास र अन्य समसामयिक विषयमा छलफल भएको उपप्रधानमन्त्री महराका सञ्चार सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार भेटका क्रममा ताओले आफ्नो पार्टीले नेपालको नेकपा (माओवादी केन्द्र) सँग सम्बन्ध सुधार गरी अगाडि बढ्ने चाहना व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको विकास र समृद्धिका लागि आफ्नो पार्टी सक्दो सहयोग गर्न तयार रहेकोसमेत जानकारी दिनुभएको थियो ।
उपप्रधानमन्त्री महराले माओवादी केन्द्रले पनि चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध अगाडि बढाउन चाहेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री दाहालको विशेष दूतका रूपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गर्नुभएको थियो ।