उमेरहदका कारण अवकाश पाएका अस्थायी शिक्षकलाई सुविधा दिन माग

प्रकासित मिति: ४ भाद्र २०७३, शनिबार १४:४१

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन उमेरहदका कारण अवकाश पाएका अस्थायी शिक्षकहरुलाई सुविधा दिन माग गरेको छ । सरकार र शिक्षकसंघसंगठन बीच भएका विभिन्न सहमति पश्चात् अवकाश भएका त्यस्ता शिक्षकलाई पनि गोल्डेन ह्याण्सेक र औषधीउपचार खर्च दिनुपर्ने संगठनको माग छ ।
शनिवार राजधानीमा आयोजित संगठनको तीन नम्बर प्रदेश स्तरीय एकता भेलामा संगठनले यस सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै अस्थायी शिक्षकलाई औषधी उपचार खर्च सहित गोल्डेनह्याण्सेक दिनुपर्ने बताएको छ । साथै राहत, बाल शिक्षक र विद्यालय कर्मचारीहरुलाई पनि प्रकृया पु¥याइ स्थायी प्रकृयामा लग्नुपर्ने संगठनले जोडदार माग गरेको छ ।
संगठनका महासचिव शंकर अधिकारीले तत्काल सरकारले राहत, बाल शिक्षक र विद्यालय कर्मचारीहरुलाई स्थायीको प्रकृयामा नलगे आन्दोलन गर्ने बताए । ‘अब सधैँ आन्दोलन मात्रै गरेर हुदैंन सरकारले शिक्षकका एकमुष्ट मागहरु पुरागर्ने प्रकृया सुरु गरे शिक्षकहरु शिक्षण सिकाईमा मात्रै केन्द्रित हुन्थे ।’ अधिकारीले भने ।
सधैँ शिक्षकहरु आन्दोलनमा मात्रै केन्द्रित हुनुपर्ने हो प्रश्न गर्दै अधिकारीले हामी रमाएर पुरा तयारीका साथ कक्षा कोठामा प्रवेश गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरे । संगठनले भर्खरै संशोधन भएको शिक्षा ऐन पूर्ण नभएपनि आलोचनात्मक समर्थन गर्दै कार्यान्वयनमा सहयोग गर्ने र नसमेटेका मागहरु पुरा गर्न संघर्ष गर्ने स्पष्ट पारे ।
एकता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता अग्नि सापकोटाले विगतमा शिक्षकहरुले तलव, पेन्सन, उपदानका लागि मात्रै भन्दापनि सिंगो राजनीतिक र सामाजिक परिवर्तनका लागि संघर्ष गरेको कुरा भुल्न नहुने भन्दै शिक्षककै संघर्षका कारण ठूला–ठूला परिवर्तन सम्भव भएको बताए । त्यस्ता संघर्षशील शिक्षकका पीडा र दर्दलाई सरकारले भुल्न नहुने भन्दै सापकोटाले शिक्षक पनि अब कक्षाकोठामा केन्द्रित हुनुपर्ने बताए ।
संगठनका अध्यक्ष भोला सापकोटाले शिक्षकका समस्याप्रति राज्यले नजरअन्दाज गर्न नहुने भन्दै ऐनले नसमेटेका शिक्षकका मुद्धा नियमावलीबाट सम्बोधन गरिनुपर्ने बताए । आफ्नो संगठन ६ महिने विजयी र एकताको अभियानमा रहेको भन्दै सापकोटाले शिक्षक महासंघको निर्वाचनमा संगठनले अभूतपूर्व विजय प्राप्त गर्ने दावी गरे ।
भेलामा एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन(बादल समुह), अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन(किरण समुह), अखिल नेपाल शिक्षक संगठन (विद्रोही) र नेपाल शिक्षक समाजका शिक्षकहरु बीच एकता भएको थियो । अखिल नेपाल प्रगतिशील शिक्षक संगठन ( किरण समूह) बाट सचीव झम्क चौलागाईं ,दुर्गादत्त पौडेल, मधुसूदन रेग्मी, नवराज लोहनी, लगायत १०० भन्दा बढी शिक्षकहरु, नयाँ शक्ति नेपालबाट शिक्षक समाजका सचिवालय सदस्यहरु त्रिलोचोन चौलागाईं, शुधिर झा ,केस बिस्नु दाहाल लगायतको १० जना र निजी विद्यालयका शिक्षकहरुको संगठनबाट काठमाडौँ अध्यक्ष कमल चौहान सहितका ५० बढी शिक्षकहरु एकीकृत अखिल नेपाल शिक्षक संगठनमा एकता भएका संगठनले जनाएको छ । एकता भेलाले घ्याम्सो लामाको नेतृत्वमा १८ सदस्यीय तीन नम्बर प्रदेश समिति समेत गठन गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement