नुवाकोट, ४ साउन । दक्षिण एसियाली राष्ट्र (सार्क)का एकल महिलाको मुद्दालाई सामूहिक रुपमा उठाउने प्रतिबद्धता गर्दै ‘हामी सक्छौँ अभियान’ सम्पन्न भएको छ ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण तथा विकासका लागि दक्षिण एसियाली महिला सञ्जालको हामी सक्छौँ अभियानको आज नुवाकोटमा समापन गर्दै सार्क राष्ट्रभित्रको समस्या सबै राष्ट्रले अन्तर्राष्ट्रिय मुद्दा बनाएर समाधानमा एकताबद्ध हुने बताएका छन् ।
महिला र त्यसमा पनि एकल महिलाको समस्या संवेदनशील हुने भएकाले समाजबाट विस्तारै माथि उठ्दै जिल्ला, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय (सार्क) मञ्चमा पु¥याएकाले अब समस्याभन्दा पनि समाधानका विषयमा एकजुट भएको सन्देश अभियानमार्फत दिन सफल भएको मानवअधिकारका लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले बताउनुभयो ।
अभियानमार्फत एकल महिलाको संस्थागत विकासका लागि अन्तर्राष्ट्रिय नेतृत्व गर्ने जिम्मेवारी श्रीलंकाले पाएको छ । चक्रीय प्रणालीअनुसार प्रत्येक राष्ट्रले तीन÷तीन वर्ष नेतृत्व गर्ने क्रममा पहिलो जिम्मेवारी श्रीलंकामा एकल महिलाका क्षेत्रमा क्रियाशील संस्था फिसर फाउण्डेशनलाई दिइएको छ ।
अभियानमार्फत नेपालमा एकल महिलाले भोग्नुपरेको हिंसा र दुव्र्यवहारका घटनाको डटेर प्रतिकार गरी प्रतिस्पर्धामा उत्रन एक हुन मनोबल वृद्धि भएको संस्थाका अध्यक्ष निर्मला ढुङ्गानाले बताउनुभयो । “सार्क राष्ट्रका महिलामा नेपालको स्थान माथि रहेको पाएका छौँ”– अध्यक्ष ढुङ्गानाले भन्नुभयो ।
अभियानका क्रममा नेपालमा रोजगारी र राजनीतिमा आरक्षण, सामाजिक सुरक्षा सेवा, स्वास्थ्य उपचारसहित राज्यले प्रवाह गर्ने सेवा, कानुन कार्यान्वयनको अवस्थामा उच्च प्राथमिकता दिएकाप्रति सार्क राष्ट्रका प्रतिनिधिले प्रशंसा गरेका छन् ।
एकल महिलाको सार्कराष्ट्रस्तरीय अनुभव आदानप्रदान, समस्याको समाधानमा अन्तर्राष्ट्रियकरण र विश्वव्यापी विस्तारका लागि नेतृत्व चयनलाई प्रभावकारी बनाउन विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले सुझाव दिनुभयो ।
सोमबार काठमाडौँमा सुरु भएको अभियानअन्तर्गत नुवाकोटका एकल महिला समूह, जिल्लाको भूकम्पपीडित शिविर, जिल्लामा रहेका सरोकार भएकासँग अन्तरक्रियासमेत गरिएको संस्थाका नुवाकोट अध्यक्ष देवकी पौडेलले बताउनुभयो । अभियानमा सार्कराष्ट्रसहित फ्रान्स र बेलायतमा रहेको एकल महिलाका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो