एक दशकमा चार हजार महिला कोरियामा

प्रकासित मिति: १९ श्रावण २०७५, शनिबार ०४:२७

हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण कोरिया पुगेका छन्

काठमाडौँ । इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपियस शाखाले जनाएको छ । इपियस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण कोरिया पुगेका छन् ।

दक्षिण कोरियाका लागि पुरुषको दाँजोमा महिलाको आवेदन नै कम पर्ने गरेको छ । शाखाका अनुसार कोरियाका लागि यसवर्ष ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिलाको आवेदन परेको थियो । शाखाका अनुसार पहिलेभन्दा अहिले महिलाको आवेदन केही प्रतिशत बढेको हो ।”अन्य देशको दाँजोमा कोरियामा बढी परिश्रम गर्नुपर्ने भएकाले पनि महिलाले कम आवेदन दिएको हुनसक्ने शाखाको अनुमान छ । दक्षिण कोरियाले विशेषगरी उद्योग र कृषि कामका लागि नेपाली कामदार लिएर जाने गरेको छ ।

सर्वप्रथम विसं २००८ मा दक्षिण कोरियाले दुई हजार ८१४ जना नेपाली कामदार लगेको थियो । जसमा पुरुष दुई हजार ७३३ थिए भने महिला ८१ थिए । उक्त तथ्यांकअनुसार लगभग ९८ प्रतिशत पुरुष कोरिया पुगेका थिए भने दुई प्रतिशत मात्र पुगेका थिए । त्यसैगरी २०१८ मा भने नेपालबाट जम्मा पाँच हजार १२५ पुरुष र ३१४ महिला कामदार कोरिया जाँदैछन् । पछिल्लो वर्ष सन् २००९ मा सोही अनुपात बढेर चार प्रतिशत महिला कोरिया पुगेका थिए । हालसम्मको तथ्यांकअनुसार जम्मा ४० हजार ७६५ कामदार उद्योगसम्बन्धी कामका लागि कोरिया पुगेका छन् ।

त्यसैगरी कृषिमा १४ हजार २२६ जना कृषिका लागि पुगेका छन् भने माछासम्बन्धी कामका लागि जम्मा ६४६ जना मात्र पुगेका छन् । महिला कृषि र उद्योग दुबै कामका लागि कोरिया पुग्ने गरेको शाखाको तथ्यांकले देखाएको छ । अन्य देशको दाँजोमा कोरियामा महिला कामदार सुरक्षित मानिने भए पनि आवेदन पनि कम पर्ने गरेको तथ्यांकले देखाएको छ । नेपाल सरकारले दक्षिण कोरिया र इजरायलमा इपियसमार्फत नेपाली कामदार पठाउने सम्झौता गरेकामा दक्षिण कोरियामा मात्र सफल भएको थियो । कोरियाले १६ वटा देशबाट वार्षिक रूपमा ५० हजार कामदार लिएर जाने गरेको छ । जसमा नेपालबाट मात्र लगभग आठ हजार कामदार लिएर जाने गरेको तथ्यांकले देखाएको छ ।

Bhansar Bivag
Argakhachi Cement