फलेवास (पर्वत), हजारौँ रुपैयाँ खर्चेर आयकर बुझाउन पोखरा जान बाध्य पर्वतका व्यवसायीको समस्यालाई मध्यनजर गर्दै जिल्लामा नै आयकर बुझाउने सुविधाबाट दुई दिनमा यहाँ झन्डै एक हजार २७ व्यवसायीले आयकर बुझाएका छन् ।
जिल्लास्थित उद्योग वाणिज्य सङ्घको समन्वयमा आन्तरिक राजस्व कार्यालय पोखराले सदरमुकाम कुश्माबजारमा आयकर सङ्कलन गर्ने व्यवस्था मिलाएपछि गत शनिबार र आइतबार एक हजार २७ व्यवसायीले आयकर बुझाएका हुन् ।
उक्त सङ्घको अनुरोधमा आएको टोलीले आव २०७२÷७३ को व्यापारिक फर्मको प्यान नं नवीकरणबाट रु २२ लाख पाँच हजार ६०४ राजस्व सङ्कलन गरेको हो । गत आवमा रु २० लाख २७ हजार २०० सङ्कलन गरेको थियो ।
सदरमुकाम कुश्माबजारका ८४२ र वारिबेनीमा १८५ व्यवसायीले आयकर बुझाएको पर्वत उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।
गत आवमा एक हजार १०० ले आयकर बुझाएका थिए । यस वर्ष नगरपालिका स्थापना भएको र करको दायरासमेत बढेकाले गत वर्षभन्दा राजस्व सङ्कलन वृद्धि भएको पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
जिल्लामा नै कर बुझाउने व्यवस्था गर्दा व्यापारीलाई ठूलो राहत मिलेको र पोखरा जाने झन्झट नभएका पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बतानुभयो