२६ कार्तिक, लिबाङ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गोली प्रहार भएको छ । चुनावी अभियानका क्रममा रहेका पुनमाथि एम्बुस विष्फोट गराइएको २४ घण्टा नबित्दै उनीमाथि आइतबार गोली प्रहार भएको हो ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता पुन दुईखोली गाउँपालिका– ६, वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । एक राउण्ड फायरिङ भएको र प्रहरीले जवाफी फायरिङ गरेको बताइएको छ ।
भीरबाट ढुंगामुढा समेत पल्टाएर पुनलाई बाटोमै अवरोध गर्न खोजिएको थियो । चुनावी सभामा सहभागी हुनका लागि प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए ।