घटनाको यथार्थ छानविन गरी दोषी माथि कारबाही अगाडि बढाउन सरकारसँग माग
काठमाडौं । कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं. ८ आनन्दबजारको नेपाल–भारत सिमानामा नेपाली भूमीमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय वर्ष २५ का गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति नेपाल परिवार दलको गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ । दलका महामन्त्री बिनोद डाँगीले बिहिबार साझ एक बिज्ञप्ति जारी गदै दुःखद घटनाको भत्र्सना गरेका छन् ।
नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीहरुबीच गत फागुन ७ गते भएको सहमति अनुसार पुर्नवास नगरपालिकाले निर्माण गरेको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद, खेदजनक भएको बिज्ञप्तिमा भनिएको छ ।
एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भारतीय पक्षको गोली प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना हो । यो घटनाको यथार्थ छानविन गरी दोषी माथि कारबाही अगाडि बढाउन, मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै नागरिकको जीउधनको सुरक्षा गर्ने लगायतका सबै दायित्व पुरा गर्न नेपाल परिवार दलले सरकारसँग माग गरेको छ ।