काठमाडौं । थाइल्याण्ड सम्पन्न भएको एसियाली मार्सल आर्ट च्याम्पियनसिपमा नेपालले ४ रजतसहित कुल १० पदक जितेको छ । दङ्ग इल मोदो संघ नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका चारजना नेपाली खेलाडीले ४ रजत र ६ कास्य गरी १० पदक जितेका हुन् ।
तङ्ग इल मोदो संघ, नेपालको तर्फबाट निमा विष्ट, भीमकुमारी चौधरी, सञ्जिवकुमार चौधरी र तेजबहादुर सिंह उक्त च्याम्पियनसिपमा सहभागी भएका थिए । ६०–६५ केजी तौलसमूहबाट तेजबहादुर सिंहले २ रजत र १ कास्य पदक हात पारे । त्यस्तै, ५५–६० केजी तौलसमूहबाट निमा विष्टले पनि २ रजत र १ कास्य पदक जितिन् । ४०–४५ केजी तौल समूहबाट भीमकुमारी चौधरीले १ रजत तथा २ कास्य तथा सञ्जिवकुमार चौधरीले १ कास्य पदक जित्न सफल भए ।
विश्वका दर्जनौँ देशबाट तङ्ग इल मोदो तथा अन्य मार्सल आर्टका खेलाडीहरूको मुख्य प्रतिपस्पर्दा रहेको उक्त खेलमा नेपालले १० पदक जित्नु सुखद रहेको अध्यक्ष पौडेलले बताए । थाइल्याण्डको चाङमाई सिटीमा यही साउन १० देखि १५ गतेसम्म चलेको सो च्याम्पियनसिप प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको संघका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।
मार्सल आर्टमार्फत् विश्व शान्तिलाई बढावा दिने उद्देश्यले सो खेलको आयोजना गरिएको तङ्ग इल मोदो संघ नेपालका उपाध्यक्ष ईश्वर भट्टले जनाए । धर्म, संस्कृति, जाति र देशीय सीमाभन्दा माथि उठेर खेलको माध्यमबाट भाइचाराको सम्बन्ध स्थापित गराउने आयोजक संस्थाको उद्देश्य रहेको उनले बताए ।