ऐना हेरेर सिंगारिदै श्रीमानलाई कति बोझ थपिरहने ?

प्रकासित मिति: २८ कार्तिक २०७४, मंगलवार १०:४२

“बेलैमा बुद्धि बिग्रिएर कलिलै उमेर बिवाह गरिहालेँ अहिले पछुताएकी छु । बुढाको न धनसम्पत्ति नै छ, न त गतिलो जागिर” रिमाले आफ्नो दुखेसो साथी सिर्जनासँग राखिन् ।
“तिमीले ठीक भन्यौ रिमा मैले पनि त शैक्षिक योग्यता आफ्नो जति पनि नभएको मान्छेसँग विवाह गरेँ अहिले पश्चतापमा जलिरहेकी छु” सिर्जनाले पनि आफ्नो व्यथा पोखिन् ।

“हेर सिर्जना अहिले ३५ वर्षे उमेरमा त यतिको सुन्दरता कायम छ भनँे २० वर्षे उमेरमा म कस्ती थिएँ हुँला ?जस्तै हुने खाने र जागिरे केटो आएनी मलाई मन पराउँथ्यो ।”

“होहो तिमीले हतार गरेउ, त्यो बेला त तिमीलाई भनेजस्तो केटोले मन पराउने थियो” सिर्जनाले थपी ।

“सँगैकी साथी रुपाले काठमाडौँमा दुई वटा घर भएको अनि सरकारी जागिरे केटोसँग विवाह गरी, आफ्नो त न घर, न गाडी उफ…रिमा निक्कै दुःखी देखिई ।”

अक्सर महिलाहरु आफ्नो जीवन चाहेजस्तो नहुनुमा श्रीमान्लाई दोषी देख्ने गर्छन् । परिवारमा सम्पूर्ण खुशीको स्रोत जुटाउने लाइसेन्स श्रीमानसँग मात्रै भएको सम्झन्छन् । हरबखत आप्mनो सुन्दरतामा घमण्ड गर्दै जीवनसाथीलाई पैसा धेरै कमाएर जीवनस्तर उकास्नै पर्ने बोझ थपिरहन्छन् ।

हिजो मात्र मेरै छिमेककी एक नर्स बहिनीको विवाह एकैछिनमा पक्का भयो । केटा थियो अमेरिकामा डिभीवाला । आफन्तबाट बिवाहको प्रस्ताब आयो, उनीहरुले केटाको बारेमा खासै  बुझ्न आवश्यक ठानेनन् । अमेरिकामा भएकै आधारमा आधाघण्टामा बिहेको कुरा पक्का भयो । केटी सुन्दर थिइन केटाले इन्टरनेटबाटै मन्जुरी जनाएको थियो ।

यसरी केटाको भिसा, सम्पत्ति, जागिर, शैक्षिक प्रमाणपत्रसँग बिवाह गर्नेहरुको कमी छैन, हाम्रो समाजमा  ।

खुशी र सुखी जीवन व्यतित गर्न नपाएकोमा बारम्बार श्रीमानलाई किन दोषी ठहरयाउँछन्  महिला ? आफू पनि उही पुरुष समान मान्छे भएको अनुभूत किन गर्दैनन् ? आफू केही नगर्ने र आफ्नो खुसियाली जीवनको सम्पूर्ण जिम्मेवारी र वोझ श्रीमानलाई थोपर्ने महिलाहरु यो धर्तीका बोझ सिवाय केही होइनन् ?

श्रीमानको कमाईमा फेशनअनुसारका कपडा र गरगहनाको प्रदर्शनीमा आफ्नो समय खर्च गर्न मन पराउने महिलाहरुको जीवन बुझाइ यस्तो देख्दा कहिलेकाही आफू महिला भएकोमा दिक्क लाग्ने गर्छ ।

आफ्नो अधिकार खोज्ने महिलाहरु हिजोआज आफ्नो कर्तव्यबाट भने टाढा पुगेको पाइन्छ । आफ्नो कर्तव्य भुल्ने महिलाहरुले अधिकार खोज्न सुहाउँछ ? घण्टौँ ऐना अगाडि उभिएर समय बिताउने महिलाहरु कुनै पनि उद्दमशील काममा लाग्न सक्दैनन् र ?

“मेरो त छोराछोरी जन्माउदा हुर्काउदै जीवन बित्यो” भनेर सम्पूर्ण दोष छोराछोरीमा थोपर्नेहरुको पनि कमी छैन । छोरीछोरी जन्माउन सक्ने क्षमता प्रकृतिले महिलालाई मात्र दिएकोमा दुःख होइन गर्वको अनुभूति गनसक्नुपर्ने हो । छोराछोरी जन्माउने, हुर्काउने कार्य भनेको सामान्य प्रक्रिया हो । तर, यसैमा आफ्नो जीवन गएको गुनासा पोख्नेहरु पनि थुप्रै भेटिन्छन् ।

खै महिलाहरुले आफ्नो क्षमता चिनेको ? के घरमै बसेर पनि गर्न सकिने कामहरु छैनन् र ? जहाँ ईच्छा त्यहाँ उपाय भने झैँ समय, स्थान र परिस्थिति अनुसार सानातिना रोजगारीहरु आफैले घरैमा पनि सिर्जना गर्न सकिन्छ ।

तुलनात्मक रुपमा पुरुषमा भन्दा महिलामा आफू सुन्दर हुनुको घमण्ड बढी नै हुने गर्छ । “म यति सुन्दर छु अझै पनि तिमीभन्दा गतिलो पुरुषले पत्याउँछ” भन्ने जस्ता धम्कीपूर्ण भाषा श्रीमानसमक्ष प्रतक्ष या अप्रत्यक्ष रुपमा राख्ने महिला मैले धेरै देखे भेटेकी छु । यस्ता तर्कले उनीहरुको जीवनमा आशा भन्दा बढी निरासाहरु पैदा गरिरहेको हुन्छ ।

वास्तवमा, आफ्नो सक्षमता प्रस्तुत गर्न सक्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो, यसको सट्टामा श्रीमानको पसिनाबाट मात्र आफ्नो जीवन खुशी या सुखी हुनु पर्छ भन्ने मान्यता राख्नु अभिसाप हो ।

हुन त हाम्रो समाजमा महिलाहरुका पनि थुप्रै वर्गहरु छन् । कोही महिला सडकको पेटीको छेउमा कलिलो बच्चालाई सुताएर मकै पोलिरहेका पनि भेटिन्छन् । कोही आफ्नो छेउमा बच्चा सुताएर टेम्पो चलाइरहेको पनि देखिन्छन् । कोही आलिशान बंगलामा दुईचार कामदारको बीचमा बच्चालाई हुर्काउदै गरेको मात्र पनि देखिन्छन् ।

मेरो लेखको तात्पर्य यो होइन कि नेपाली महिलाहरु सबै असक्षम छन् तर यो पक्का हो कि उनीहरुमध्ये धेरैले आफूलाई कमजोर प्रमाणित गरिरहेका छन् ।

त्यसो त तीन पटक सगरमाथा आरोहण गर्ने माया शेर्पा जस्ता साहसिक महिला पनि यहाँ छन् । जो साहसिक कार्य नै आफ्नो नसा भएको बताउँछिन् ।

मुना घिमिर जो डोजर चालक हुन् । उनी महिलाले चाहेमा जुनसुकै र जतिसुकै अप्ठ्यारो परिस्थितिमा अघि बढ्न सक्छन् भन्ने उदारहण हुन् ।

अनेरास्ववियु अध्यक्ष , नविना लामा पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने सपना बोकेर विद्यार्थी राजनीतिमा संघर्षशील छिन् ।

अमेरिकी विश्वविद्यालयमा डिनको रुपमा कार्यरत शवनम कोइरालाबाट जस्तोसुकै विकसित राष्ट्रमा नेपाली महिलाले आफ्नो सफलता पाउन सक्छन् भन्ने वोध गर्न सकिन्छ ।

यस्ता थुप्रै साहसिक नेपाली महिलाहरु छन् जो जीवनलाई संघर्ष सम्झिएर आफ्नो आफ्नो क्षेत्रमा क्रियाशील, गतिशील, प्रगतिशील छन् ।

वल्ड इकोनोनिक फोरमले सार्जजनिक गरेको विश्व लैंगिक असमानता प्रतिवेदन अनुसार १ सय ४५ देशमा गरिएको लैंगिक समानता सम्बन्धी सर्वेक्षणमा नेपाल १सय १० औँ स्थानमा परेको छ ।

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भन्ने गरिएता पनि अक्सर महिलाहरुले आफूलाई रथको चक्का गुड्ने धर्ती मात्र सम्झिनु अति लाचारपन हो ।

आफ्नो आत्मविश्वासलाई बलियो बनाएर अगाडि बढे महिला पनि हर क्षेत्रमा सफल बन्नेछन् । प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतले पनि ‘म महिला हुँ, म कमजोर छु’ भनेर चुप लागेर बसेकी भए सिएनएन हिरो अवार्ड प्राप्त गर्ने थिइनन् । जसको कामको प्रशंसा संसारभर भयो ।

“मेरो श्रीमान त डाक्टर होइसिन्छ, इन्जिनियर होइसिन्छ मलाई त सुखै सुखले खान पुग्छ” भनेर समाजमा फुर्ती देखाउने महिलाहरुले चाँडै आफ्नो अस्तित्व पहिचान गर्न सकुन् र समाज विकासमा पुरुषसँग काँधमा काँध मिलाउन सकुन् ।

चारखुट्टे जनावर, पंक्षी, किरा, फट्याङ्ग्रा जस्ता जीवहरुले त आफ्नो आहाराको वन्दोवस्त आफै गर्न सक्षम छन् भने हामी त उही पुरुषलाई जन्माउन, हुर्काउन र योग्य बनाउन सक्ने क्षमता, शीप र कला भएका मानव हौं । त्यसैले, अब आफ्नो पौरख,  तागत र पसिनाको भरमा आफ्नो अस्तित्व निर्माण गर्न महिला अगाडि बढ्नै पर्छ ।

Bhansar Bivag
Argakhachi Cement