वालिङ, पौराणिक महत्वको अन्धाअन्धी दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
स्याङ्जाको चिलाउनेबास गाविस वडा नं ८ र ९ को सिमानामा अवस्थित उक्त दह आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसार त्यति छैन ।
“श्रवणकुमारका नेत्रहीन बाबु र आमाको आँसुबाट बनेको अन्धाअन्धी दहको पूर्वाधार विकासका लागि एक समिति बनाएर अगाडि बढेका छौँ”–अन्धाअन्धी पूर्वाधार विकास समितिका अध्यक्ष माधवप्रसाद गौतमले भन्नुभयो, “यहाँ धेरै भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ, अहिले प्रचारप्रसार गरेर यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउन विशेष कार्यक्रम सञ्चालन गरेका छौँ ।” राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएपछि उनका बाबुआमाको आँसुले सो दह बनेको पौराणिक विश्वास गरिन्छ । जिल्ला पर्यटन विकास समितिका पहलमा विनियोजन भएको रु सात लाखबाट दहसम्म पुग्ने बाटो र मन्दिर निर्माण तथा श्रवणकुमारका आमाबाबुको मूर्ति स्थापना गरिएको छ ।
“दुईतर्फ कडा चट्टानसहितको पहाड छ, बीचमा दह रहेको छ” गौतमले भन्नुभयो, “ओडारभित्र श्रवणकुमारका आमाबुबाको मूर्ति देखिन्छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा–पोखरा सडकखण्डको नाउँडाँडाबाट झन्डै १४ किमीको दूरीमा सो दह रहेको छ । सो ठाउँमा विशेषगरी बालाचतुर्दशीका बेला ठूलो मेला लाग्छ