रत्ननगर, चितवन १५ मंसिर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताले नेपाली काँग्रेसलाई पनि फाइदा पुगेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका–९ धारेचोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफूलाई फाइदा हुँदाहुँदै पनि धन्यवाद दिनाको साटो काँग्रेसले जनतामा भ्रम फैलाएको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले काँग्रेसबाट फुटेर गएका मधेश केन्द्रित दलहरु फेरि काँग्रेसमा आएका छन् भन्दै कम्युनिष्ट शासनको बारेमा गलत सन्देश नफैलाउन काँग्रेससँग आग्रह गर्नुभयो । “कम्युनिष्टहरु देशको समृद्धि र विकासको पक्षमा रहेकाले तपाईँहरु पनि मिल्नुहोस् भनेकै हो, महन्थ ठाकुर, राजेन्द्र महतो र राजपासँग पनि मिल्नुस्”, उहाँले भन्नुभयो, “जे जे नाम भए पनि सबै पार्टी काँग्रेस नै हुन् ।”
अध्यक्ष दाहालले प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको काँग्रेसले प्रतिगमन र राजतन्त्रको वकालत गर्ने राप्रपालाई समर्थन गर्नु दुःखद् भएको जिकिर गर्नुभयो । नेपाली कम्युनिष्टको सपना शान्ति र समृद्धि भएको बताउँदै उहाँले यसैका लागि वाम एकता आवश्यक भएको स्पष्ट गर्नुभयो । चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले राष्ट्रको आवश्यकतानुसार बृहत्तर हितका निम्ति वामशक्ति अघि बढ्ने उहाँको भनाइ थियो ।