काँग्रेस हारेपनि बिपी विचारको जित : शर्मा

प्रकासित मिति: १८ पुष २०७४, मंगलवार ०३:५६

चितवन, १८ पुस  .  नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस, चितवनले सोमबार यहाँ आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताउनुभएको हो ।

बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उहाँले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै उहाँले काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताउनुभयो ।

काँग्रेसले मधेश—पहाड—तराई जोड्न सकेको भन्दै उहाँले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताउनुभयो । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उहाँले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्रजातन्त्रमा सबैको जित हुने भन्दै उहाँले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताउनुभयो । अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेले बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद सावित्री बोगटी पाठक, पूर्व सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतको सहभागिता रहेको थियो

Bhansar Bivag
Argakhachi Cement