काठमाडौं । निजी क्षेत्रबाट सञ्चालन भएको स्वास्थ्य सेवाबाट गरीव नागरिक लाभान्वित हुन नसकेको र सरकारी स्वास्थ्य सेवा अपेक्षित गुणस्तरीय नभएको जनाउँदै उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ्गले — सरकारलाई स्वास्थ्य सेवा सुधारकालागि गम्भीर भएर काम गर्न आग्रह गर्नुभएको छ । आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पूर्ण खोप सुनिश्चित महानगर घोषणा समारोहमा बोल्दै उपराष्ट्रपति पुनले भन्नुभयो — नेपालमा अझै पनि रुघा खोकीकाकारण मानिसहरु मरिरहेका छन् । यो दुखद् पक्षलाई सरकारले गम्भीर भएर हेर्नुपर्छ ।
उपराष्ट्रपति पुनले काठमाडौंको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो — सांस्कृतिक र ऐतिहासिक रुपमा समृद्ध काठमाडौं सहर विकास व्यवस्थापन नमिलेर विग्रिएको छ । यसलाई सुधार गर्न, सरकार र महानगर दुवैले काम गर्नुपर्छ ।
घोषणा सभामा स्वास्थ्य मन्त्री दीपक वोहोराले — नेपालका १ प्रतिशत बालबालिका अझै पनि खोपको पहुँचमा नपुगेको आँकडा औल्याउँदै, मातृ शिशु मृत्यु दर कम हुनुलाई उपलब्धीका रुपमा चर्चा गर्नुभयो ।
सोही सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — महानगरले बालबालिकालाई आधारभूति खोप दिने र जेष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधार र स्वास्थ्योपचारमा पहुँच बढाउन निशुल्क तथा घरमै उपचार गरिने कामलाई प्राथमिकतामा राखिएको बताउनु भयो भने उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उत्पादनशील जनशक्ति विकासकालागि सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने खाँचो देखाउनु भयो ।
काठमाडौं महानगरले आधारभूत स्वास्थ्य सेवाका कार्यक्रमलाई प्राथमिकता राखेको बताउँदै घोषणा सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी सुविधा वितरणमा स्वास्थ्य सेवालाई प्राथमिक क्षेत्रमा राखिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका सदस्यसचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बालबालिकालाई दिइने ७ प्रकारका खोपले ११ प्रकारका जटिल रोगबाट बालबालिकालाई बचाउने तथ्य उल्लेख गर्दै सरकारले तोकेको समयमा लक्ष्य हासील गर्न नसके पनि सहश्राव्दी विकास लक्ष्यमा महत्वपूर्ण उपलब्धी हासील गरेको बताउनु भयो ।
घोषणा सभामा — महानगरका प्रमुख तथा महानगर खोप समन्वय समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले महानगरलाई — पूर्ण खोप सुनिश्चित महानगर घोषणा प्रस्ताव गर्नुभएको थियो भने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले प्रस्तावलाई समर्थन गर्नुभएको थियो ।
सो अवसरमा महानगरीय खोप कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउनु हुने महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
पूर्ण खोप घोषणाका आधारहरु
कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्बेक्षण गर्दा, उनीहरुले १ बर्षको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको हुनुपर्छ । यस सर्वेक्षणका समयमा ती बालबालिकाहरु कम्तीमा १८ महिनादेखि स्थानमा बसोबास गरेको हुनुपर्छ । राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि १ बर्ष भित्रका बालबालिकालाई बि. सि. जि. खोप १ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा पेन्टा भ्यालेन्ट ( डि.पि.टि., हेपाटाइटिस बी, हिब) — ३ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा ओरल पोलियो, रा ९ महिना पूरा भएपछि दादु्रा रुबेलाको खोप — १ डोज दिनुपर्दछ ।