कृति समीक्षा सजिना (मुक्तकसङ्ग्रह)

प्रकासित मिति: १४ श्रावण २०७५, सोमबार ०२:३३

– अरुणबहादुर खत्री “नदी”

साहित्यकार एवं मुक्तककार नमराज घिमिरे शिखरको सजिना नामक मुक्तक सङ्ग्रह पहिलो कृतिको रुपमा २०७४ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र उनीद्वारा लेखिएका २०१ वटा मुक्तक राखिएका छन् । सङ्ग्रहभित्रका केही मुक्तकहरु रोमाञ्चक, हाँसो र ठट्टाको भावले भरिएका पनि छन् । उनका मुक्तक अर्थका हिसाबले विभिन्न विषयलाई छुने खालका छन् । राजनीतिक परिवशेमा जनता र नेता दुबैमा सान्दर्भिक छन् । सङ्ग्रहभित्रका मुक्तक पढ्दै जाँदा लाग्छ उनी कतै उपदेशक बनेर देखिएका छन्, कतै प्रेम वियोगमा छट्पटाएका छन् त कतै अथाह मातृभक्ति दर्शाउन पुग्दछन् । साहित्यको विशेषता भनेकै पाठकमा रोचकता पस्कन सक्नु हो। आनन्दाभूति दिलाउन सक्नु हो । यस विषयमा नमराजका मुक्तकमा कमी देखिदैन । उनी साहित्यप्रति सकारात्मक देखिन्छन् । साहित्य लेख्न र पढ्न मुक्तक लेखेर चम्कने गर्दछन् ।
हलुका हुँदै रहनु चरी झै उड्न सजिलो होस्
जिरा झैं पिसिन खोज्दा घुम्न सजिलो होस्
गमला माटो मल बिउ छहारी सबै म छर्दैछु
तिमी गुलाबको फूल झैं फुल्न सजिलो होस् ।
वास्तवमा मुक्तक यस्तो विधा हो कि जसले साहित्य जगत्मा तहल्का नै मच्चाउछ । तर यसले आफ्नो धर्म निर्वाह गर्नुपर्दछ अनि यसले साहित्य जगत्मा झिल्का पार्दछ । मुक्तकले मानिसको हृदयलाई छिटै आकर्षण गर्दछ । नेपालमा मुक्तक भित्रयाउने श्रेय कविवर भीमदर्शन रोकालाई जान्छ । मुक्तक कविताकै छोटो रुप हो । मुक्तकमा कविताकै गुण र प्रवृृत्ति समाविष्ट रहन्छन् । तर मुक्तकले एक झट्कामा कविको आशय छर्लङ्ग हुने गरी अभिव्यक्ति स्वतन्त्र र सहज रुपमा पाठक समक्ष सम्प्रेषण गर्ने क्षमता राख्तछ । यस सङ्ग्रहभित्र समावेश भएका मुक्तकहरु आआफ्नै विशेषताभित्र समेटिएका छन् र ती सबै छुट्टा छुट्टै व्याख्यायोग्य छन् । जीवनमा दुःखसुखका अनुभवहरु अनगिन्ती भोगाइहरु नै नमराजको साहित्यसिर्जनाको स्रोतहरु हुन् । यसका अलावा समग्र विश्व राजनीति, सामाजिक परिवेश, धर्म, संस्कृति र मौलाउदै गएको विकृत समाजलाई चित्रण गर्दै साहित्यमा मुक्तकको माध्यमबाट उतार्ने प्रयास गरेका छन् ।
कसैलाई दुई चार थान ज्यान चाहिया छ
कसैलाई दुई चार थान सम्मान चाहिया छ
जसरी पनि घरदैलो गरिदेऊ दाजुभाइहरु
चुनावमा दुईचार थान हनुुमान चाहिया छ ।
कवितालाई निचोरेपछि मात्र मुक्तकको जन्म हुन्छ । आफूले भन्न खोजेको कुरालाई चार हरफमै लेख्नु पर्ने हुंदा साहित्यका अन्य विधाभन्दा यो विधा चुनौतिपूर्ण त हुन्छ नै । त्यसो त एउटा सानो मुक्तकभित्र सिङ्गो ब्रहमाण्ड नै अटाउन सक्छ । जीवन र जगत्संग सम्बन्ध गाँसिएका मुक्तक रचनाहरु सङ्ग्रहित यस कृतिले मुक्तक लेखनका क्षेत्रमा थप योगदान गरेको त छ नै । कविताको सबैभन्दा लघुतम रुपलाई मुक्तक काव्यको रुपमा चिन्ने गरिन्छ । हरेक साहित्यिक रचनामा मानवचरित्र र क्रियाकलाप चित्रण गरेजस्तै मुक्तक काव्यमा पनि व्यक्ति, समाज, वातावरण र मानव समाजसँग सम्बन्धित अनेक पक्षलाई नै समेटेर सिर्जना गरिएका हुन्छन् । मुक्तककार विवशले सिर्जनामा बिम्बको राम्रोसँग प्रयोग गरेका छन् । विषयवस्तु प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । जसका कारण मुक्तक पठनीय हुनमा थपेको छ तर कतिपय मुक्तकहरु सायरी शैलीमा सिर्जिएकाले केही लामा र कण्ठमा पार्न कठिन हुनेखालका पनि देखिन्छन् ।
निर्मल भै नदीहरु बग्नुपर्छ अब
उघ्रेको निर्दोष मन तग्नुपर्छ अब
धमिलामै माछा मार्ने नियत देख्दा
उज्यालो छर्ने बत्ती लग्नुपर्छ अब

समग्रमा भन्दा कवि नमराज शिखर मुक्तक लेखनमा सफल व्यक्तिका रुपमा गनिन्छन् । नीतिका कुरा दिन, सुन्दर समाज निर्माण गर्न, समाजलाई राम्रो बाटो देखाएर भावी पुस्तालाई मार्गदर्शन गर्न उनी खप्पिस छन् । सानो आयाममा सजिएको यस सङ्ग्रहभित्रका मुक्तकहरु चेतनाका दृष्टिले फराकिला रहेका छन् । मान्छेका जीवनका अनेकौ उहापुहाका सन्दर्भहरुलाई मुक्तकले समेटिएका छन् । मानवीय प्रकृति, संस्काृति, रुढिवादी परम्परा आदि मुक्तकका विषय बनेका छन् । उनी साहित्यप्रति सकारात्मक देखिन्छन् । साहित्य लेख्न र पढ्न मुक्तक मार्फत् अभिप्रेरित गर्दछन् । उनका मुक्तकलाई पढ्दा लाग्छ उनी मुक्तकका कुशल कालीगढ हुन् । उनका मुक्तककमा काही वियोगान्तको भाव त काही संयोगान्तको भाव पनि पाइन्छन् । यति हुँदाहुँदै पनि आफ्नो साहित्य प्रकाशनमा ल्याउने प्रकाशक समक्ष पनि मुक्तकमार्फतत् नै जानकारी गराउन भ्याएका छन् । अन्त्यमा भन्दा उनका मुक्तकमा कहीकतै थोरै अस्पष्टता र भाषिक सरलतााको कमी देखिनु सामान्य कमजोरी हो। चेतनाका दृष्टिले सङ्ग्रहभित्र रहेका सबै मुक्तक राम्रा नै छन् । यस मुक्तक सङ्ग्रहभित्र सुखको पीडा पनि छ, दुःखको पीडा पनि छ, हाँसो र रोदन दुबै छ दुखाइ र भोगाइको अनुभूति पनि छ । आगामी दिनमा उनका अन्य कृतिहरु हामीले पढ्न पाउने ठूलो आशामा बाधिएको छु ।
कृतिः सजिना
विधाः मुक्तकसङग्रह
मुक्तककारः नमराज घिमिरे शिखर
प्रकाशकः गौरी पब्लिक रिलेसन एण्ड पब् िलकेशन, काठमाडौं
संस्करणः प्रथम, वि.सं. २०७४, असार सामाखुसी मार्ग, ९३५÷५४,
मूल्यः रु. १२५।– काठमाडौं (नेपाल)
पृष्ठः ५०

Bhansar Bivag
Argakhachi Cement