माओवादीले एकताको आधार तयार नहुँदासम्म सरकारमा नजाने अडान लिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् । ओली याथाशीघ्र माओवादीलाई सरकारमा सहभागी गराउनका लागि पार्टी एकताबारे ठोस सहमति चाहन्छन् ।
काठमाडौं ः पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा चर्चाको उत्कर्षमा रहेको दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले तथा माओवादी केन्द्रबीच पार्टी एकीकरण अझै निष्कर्षमा पुग्न सकेको छैन । एउटै चुनावी घोषणापत्र लिएर आमनिर्वाचनमा होमिएका र गठबन्धनमार्फत् बहुमत प्राप्त गर्न सफल यी पार्टीमा भागबण्डा र सैद्धान्तिक विचारधारामा गम्भीर विवाद उत्पन्न भएर एकता प्रक्रिया लम्बिएको निष्कर्ष निकाल्न थालिएको छ ।
बहुमतमार्फत सरकारमा पुगिसक्दा पनि ‘सैद्धान्तिक’ विषयमै कुरा नमिलेर माओवादी सरकारमै सामेल नहुने अडानमा छ । लामो छलफलपछि एकीकृत पार्टीको सहअध्यक्ष भएर दुवै दलका अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टी चलाउने विषयमा सहमति जनाए पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया अझै लम्बिने संकेत देखिएको छ ।
पछिल्लो अपडेटअनुसार वाम एकता बिथोल्न ठूलै शक्ति लागिपरेको भन्दै दुवै पार्टीका अध्यक्षद्वय गहन छलफलमा छन् । पटकपटक ‘वान टु वान’ भेटेर छलफल गरेका ओली र प्रचण्ड अब छिट्टै नै पार्टी एकतामा ‘ब्रेक थ्रु’ गर्ने बतारहेका छन् । ‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिक्न सकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालका लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ,’ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग शनिबार बिहान बालकोटमा भेटवार्ता गरी महोत्तरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन् । यसले संकेत गर्छ कि पार्टी एकता हुन्न भनेर भाँड्न खोज्नेविरुद्ध स्वयं प्रचण्ड र ओली नै गम्भीर बनेका छन् ।
एकता प्रक्रियामा पछिल्ला दिनमा निकै उतारचढाव आएको भए पनि शनिबारको वार्ताले भने नजिक ल्याउने काम गरेको नेकपा एमालेका एक प्रभावशाली नेताले बताएका छन् । उनका अनुसार, यसअघि छलफल गर्न नसकिने भनेको ‘जबज’ लाई छलफलको विषय बनाउन सकिनेबारे दुवै शीर्ष नेताबीच छलफल भएको छ ।
कगद(जभबम स् ओली दबाबमा
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच शनिबार भएको ‘एकान्त वार्ता’ ले एकताको आधार तयगरेको दाबी नेताहरुको छ । पछिल्लो समय ती दुई नेताका छलफल गोप्य नै राखिने गरिएको छ । ‘एकता संयोजन समितिको बैठकले अनुमोदन नगर्दासम्म केही सूचना बाहिर नलग्नू भनिएको’ समितिकै सदस्यहरू बताउँछन् । पार्टी एकताको आधार तयार भएपछि माओवादीले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि सिफारिस गर्नेछ । एकतामा बार्गेनिङ गर्नैका लागि उसले अहिलेसम्म सरकारमा सामेल हुने इच्छा देखाएको छैन । माओवादीले एकताको आधार तयार नहुँदासम्म सरकारमा सहभागी नहुने अडान लिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् । सोही दबाबलाई चिर्न जतिसके छिटो माओवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि उनी पार्टी एकताबारे ठोस सहमति चाहन्छन् ।
माओवादी केन्द्रका अर्का नेताले पनि पार्टी एकतामा देखिने सहमतिको तयारी गरिएको बताए । एकता समितिको बैठकमा पार्टी एकता, त्यसपछि बन्ने पार्टीका कमिटी, सरकार विस्तार लगायतका विषयमा छलफल हुनेछ । गत असोज १७ गते दुई दलले ६ बुँदे सहमति गरेर वामएकता घोषणा गर्दै पार्टी एकताको शुरुवात गरेका थिए ।