काठमाण्डौं । पार्टी एकतामा सहमति जुटेपछि एमाले र माओवादी केन्द्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका लागि नेताहरुसँग छलफल शुरु गरेका छन् ।
मन्त्री बन्नका लागि सांसदहरुको दौडधुप सुरु भएको छ। मन्त्री बनाइदिन आग्रह गर्दै शीर्ष नेताकहाँ घरदैलो गर्ने क्रम पनि तीव्र भएको छ।पार्टी सचिव प्रदीप ज्ञवालीले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
राज्यमन्त्रीसमेत गरी २५ जनाभन्दा बढी सदस्यीय मन्त्रिपरिषद बनाउन नपाउने संवैधानिक व्यवस्था भएकोले धेरै आकांक्षीलाई व्यवस्थापन गर्न कठिन छ।
जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा थममाया थापालाई नियुक्त गरिएको छ।
एमालेबाट महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डेको सम्भावना बलियो देखिएको छ । पोखरेल, पौडेल, ज्ञवाली र पाण्डेले अर्थमन्त्रीमा आकांक्षा राखेको स्रोतले बताएको छ । मन्त्री बन्नका लागि उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, युवा नेता रवीन्द्र अधिकारी पनि दौडधुप सुरु गरेका छन् । काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेलको पनि चर्चा चलेको छ ।
यस्तै एमालेमा भक्तपुरवाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि मन्त्रीमा चर्चा छ । कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको पनि चर्चा छ ।
पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ ।
माओवादी केन्द्रले कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित नभए पनि मन्त्री बन्नका लागि नेताहरुले शीर्ष नेताहरुसंगको भेटघाट र छलफललाई तिब्र बनाएका छन् । माओवादीमा वर्षमान पुन, चक्रपाणी खनाल बलदेव, टोपबहादुर रायमाझी, देव गुरुङ, अग्नि सापकोटा, शक्ति बस्नेत, पम्फा भुषाल, देवेन्द्र पौडेल, हितबहादुर शाही लगायतका नेताहरुको चर्चा छ ।