जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आईतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ। पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ। एक जना अझै बेपत्ता छन्। एक जनाको जीवितै उद्धार गरिएको छ।
भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन्।
उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो। उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ।
छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था गम्भीर छ। यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ। नलगाड–१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको लाश फेला परेको छैन । पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।