गठबन्धनमा किचलो

प्रकासित मिति: ३१ श्रावण २०७३, सोमबार १६:२३

विष्णु निश्चल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सत्तारुढ गठबन्धनमा किचलो शुरु भएको छ । प्रधानमन्त्रीसँगै नेपाली कांग्रेसका दुई जना र नेकपा (माओवादी केन्द्र) का तीन जनाले शपथ लिए । तर, भनेजस्तो मन्त्रालय नपाएकाले कांग्रेस नेता अर्जुननरसिंह केसीले मन्त्री पदको शपथ नै लिएनन् । सरकारमा पहिलो चरणमा पठाइने व्यक्तिको छनोटसमेत बेलैमा गर्न नसक्ने पार्टीले मुलुकलाई संकटबाट पार लगाउने आशा कसरी गर्न सकिन्छ ? यो अहिले गम्भीर प्रश्न बनेको छ ।
प्रधानमन्त्री दाहालले पाएको ३६३ मतमा करिब ५५ प्रतिशत मत कांग्रेसकै थियो । यसैले सरकारको कार्यसम्पादनलगायत छवि र प्रस्तुति धेरै हदसम्म कांग्रेसको व्यवहारमा निर्भर हुनेछ । धेरैको विश्लेषण छ कि अहिलेको सरकारको चाबी कांग्रेसकै सभापति शेरबहादुर देउवासँग छ ।
तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डकै अभिव्यक्तिदेखि कांग्रेस नेता समेत सशंकित हुन थालेका छन् । प्रचण्ड प्रधानमन्त्री बन्नुअघि कांग्रेससँग तीनबुँदे सहमति गरेका थिए । सँगै स्थानीय निकायको निर्वाचन प्रचण्ड नेतृत्वको सरकारले गर्ने र संघीय सभाको चुनावका लागि शेरबहादुर नेतृत्वमा सरकार गठन गर्ने सहमति पनि भएको भन्ने बाहिर आएको थियो । तर प्रधानमन्त्री बनेपछि प्रचण्डले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएकै होइन भनी अभिव्यक्ति दिन थालेका छन् । यसैले पनि रामचन्द्र पक्षधर नेताहरू प्रचण्डसँग गठजोड गरेर शेरबहादुरले गलत काम गरेको आरोप लगाइरहेका छन् ।
हुन पनि सत्तामा पुग्नेबित्तिकै आन्तरिक कलहमा व्यस्त हुने पार्टीका रूपमा कांग्रेस पहिलेदेखि नै बदनाम छ । सभापति देउवाका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटको गुटले शेरबहादुरलाई मनोमानी ढंगले अघि बढेको भनी आरोपै लगाउन थालेको छ । सरकारमा जाने मन्त्री छनोट गर्दा होस् या प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा होस्, सभापति शेरबहादुरले रामचन्द्र पक्षसँग कुनै छलफल समेत नगरेको आरोप छ । यसैकारण रामचन्द्र पक्ष त झन् सरकारमा सहभागी नहुने निर्णयमा पुगेको पनि चर्चा छ । कांग्रेसको आन्तरिक विवादले विगतमा कांग्रेसकै नेतृत्वका सरकारहरू समेत गिराइएको प्रसंगबाट अहिलेको यो किचलो पनि विश्लेषण गर्न सकिन्छ ।
कांग्रेसभित्रको किचलोका लागि मूलतः सभापति शेरबहादुर देउवा जिम्मेवार देखिन्छन् । पार्टीमा भागबण्डा र गुटबन्दीको अभ्यास उनैले संस्थागत गराएका हुन् । अहिले त्यही भागबन्डाको अभ्यासले उनी स्वयैलाई अप्ठेरोमा पारेको छ । पहिला संस्थापन पक्षसँग ४० प्रतिशत भागबण्डा शेरबहादुर पक्षले माग्ने गथ्र्यो, अहिले त्यही नीति रामचन्द्र पक्षले लिएको देखिन्छ । दल सरकारमा जाँदाभन्दा नजाँदा दलभित्रको एकता राम्रो हुने र सरकारमा जानेबित्तिकै दलभित्रै गुटको राजनीति चुलिने समस्या सबै राजनीतिक दलमा देखिने गरेकै हो । एउटै दल भए पनि विभिन्न समूहको ‘फेडेरेसन’जस्ता नेपालका राजनीतिक दल आन्तरिक किचलोका कारण धेरैपटक समस्यामा परेको देखिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र नेपाली कांग्रेस प्रमुख साझेदार भएर गठन भएको सरकार पहिलो दिनदेखि नै आन्तरिक समस्यामा फसेको छ ।
सत्तास्वार्थकै कारण जस्तोसुकैसँग पनि गठजोड गर्ने राजनीतिक विकृतिकै कारण नेपालमा अस्थिरता समेत चुलिएको हो । आफैले समर्थन गरेको गठबन्धन भोलि आफ्नो स्वार्थ नमिल्दा आफैले तोड्ने प्रचलन नेपाली राजनीतिमा हाबी छ । कांग्रेसमा अहिले त मुख्य रूपमा पद तथा भागबण्डाको किचलो छ । वरिष्ठ नेता डा. शशांक कोइरालाले पनि परराष्ट्र मन्त्रालय नपाउने हो भने आफू अन्य मन्त्रालय नलिने अडान राखेकाले उनको पनि शपथ हुन सकेन । नेपाली कांग्रेसले लिने भनिएको १३ मन्त्रालयमध्ये कम्तीमा पाँच वा छ सामूहिकरूपमा नपाईकन रामचन्द्र पौडेल पक्ष सरकारमै नजाने र विद्रोहसमेत गर्न सक्ने घुर्की अहिले पनि लगाइरहेकै छ । यही किचलो चुलिँदै जाने हो भने वर्तमान सरकारले पनि काम गर्न नपाई केही समयपछि बहिर्गमन हुनुपर्ने स्थिति नआउला भन्न सकिन्न ।

Bhansar Bivag
Argakhachi Cement