गोरखाको घ्याल्चोकमा कांग्रेस र माओवादीबीच झडप, दुई राउण्ड हवाइ फायर |

प्रकासित मिति: २७ बैशाख २०७४, बुधबार १५:०३

गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर ८ घ्याल्चोकमा सत्तारुढ दुई दलका कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् ।

कांग्रेसले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको बा १४ च ६८५१ नम्वरको बोलेरो जिप माओवादीका कार्यकर्ताले तोडफोड समेत गरेका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा बुधबार साँझ करिव पाँच बजेतिर साविकको गाविस भवन नजिकै झडप भएको हो । झडप नियन्त्रणका लागी प्रहरीले दुइ राउण्ड हावइ फायर समेत गरेको छ ।

शान्तिपूर्ण र्‍याली गर्दै गर्दा एक्कासी आफूहरुमाथि आक्रमण भएको कांग्रेसको तर्फबाट गण्डकी गाउँपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा उम्मेदवारी दिएका सानुभाइ बिश्वरालले बताए । ‘हामी शान्तिपूर्ण तवरले र्‍याली गर्दै थियौ,’ बिश्वरालले भने ‘एक्कासी माथिबाट ढुङ्गामुढा सँगै बोक्तल हान्न थाले ।’

माओवादीले प्रहार गरेको ढुङ्गामुढाबाट केही कार्यकर्तासँगै सुरक्षाकर्मी समेत घाइते भएको स्थानीयहरुले बताएका छन् ।

माओवादीका कपिल पुलामीले भने आफूहरुको कोणसभा भइरहेको ठाउँमा कागे्रस कार्यकर्ताले हस्तक्षप गर्न आएपछि प्रतिकार गरेका बताए । उक्त क्षेत्रमा अहिले थप सुुरक्षाकर्मी खटाइएको छ ।

यता भिमसेन गाउँपालिका वडा नम्वर ३ तान्द्राङमा एमाले कार्यकर्ताको कुटपिटबाट स्थानीय शिक्षक यदु प्रसाद लामिछाने घाइते भएका छन् ।

चुनावी प्रचारप्रसारमा रहेका कांग्रेस र एमाले कार्यकर्ताबीच भएको बिवाद मिलाउन गएका लामिछानेलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन् । लामिछाने गण्डकी निमावीका प्रअ समेत हुन् ।

Bhansar Bivag
Argakhachi Cement