काठमाडौं । पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा उम्मेद्वारहरू दोस्रो चरणको निर्वाचनको तयारीमा केन्द्रित छन् । यसैबीच काठमाडौं क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेद्वार माधव कुमार नेपाल पनि आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियानमा खटेका छन् । एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल काठमाडौं– २ बाट यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको चुनावमा आफूलाई जिताउन भोट माग्न मतदाताको घर–घर पुगिरहेका छन् । उनलाई परिवार दलले पनि राम्रै साथ दिएको छ ।
वाम गठबन्धनका साझा उम्मेद्वार नेपाललाई जिताउन परिवार दलले व्यापक अभियान नै चलाएको छ । एमाले पार्टीसँग ३ बुँदे समझदारी गरेर एमालेकै चुनाव चिन्हबाट निर्वाचनमा होमिएको परिवार दलले नेपालको चुनावी क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्तालाई व्यापक परिचालन गरेको छ । विशेषगरी परिवार दलका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी, केन्द्रीय सदस्य विजय कट्टेल लगायतका नेताहरू माधव नेपाललाई जिताउने अभियानमा अहोरात्र खटेका देखिन्छन् । नेपालका हरेक चुनावी सभा तथा घर दैलो कार्यक्रममा अधिकांश स्थानमा परिवार दलका ती नेताहरू सँगै हुने गर्छन् ।
माधव नेपाललाई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले समेत राम्रै साथ दिएका छन् । विगतदेखि नै माओवादीका शुभचिन्तकका रूपमा माधव नेपाललाई लिने गरिन्छ । हाल माओवादी केन्द्र पनि वाम गठबन्धनमै रहेकोले नेता नेपाललाई जिताउन उनीहरू अहोरात्र खट्नु स्वाभाविक पनि हो । २०७० सालको संविधानसभा चुनावमा काठमाडौं– २ र रौतहटबाट समेत गरी दुई ठाउँबाट निर्वाचित भएका नेता नेपालले काठमाडौं २ बाट राजीनामा दिएका थिए । यसपालि भने दुई ठाउँबाट उठ्न नपाउने व्यवस्था भएसँगै उनी रौतहट त्यागेर काठमाडौंबाटै उठेका छन् ।
दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं– २ मा माधव नेपाललाई लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका निवर्तमान सांसद दीपकप्रसाद कुईंकेलले चुनौती दिइरहेका छन् । त्यस्तै सोही क्षेत्रमा अर्का प्रतिस्पर्धी देखिएका छन् विवेकशील साझा पार्टीका सूर्यराज आचार्य पनि छन् । तर नेता नेपालका लागि आचार्यभन्दा कुइँकेल बढी चुनौतीपूर्ण रहेको भए पनि उनी सजिलै जित्ने विश्वासमा छन् । चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी नै गठन गरेर होमिएका नेता नेपाललाई अन्य दलहरूको साथ र सुभेच्छा राम्रो रहेकाले पनि उनी सजिलै जित्ने अुनमान गर्न सकिन्छ ।