काठमाडौँ, २६ मङ्सिर । ट्याक्सी चालकको मृत्यु भएपछि आज दिनभर बौद्धको नयाँबस्ती क्षेत्र तनावग्रस्त भयो ।
दोलखा घर भई हाल काठमाडौँ, गोकर्णेश्वर बस्ने चालक राजकुमार लामाको गएराति मृत्यु भएपछि प्रहरीको कुटाइका कारण उनको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी बिट, नयाँबस्तीअगाडि भेला भई उनीहरुले बिट र प्रहरीमाथि आक्रमण गरेका थिए ।
सो क्रममा बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नंको मोटरसाइकल आगजनी गरेको र बिटमा समेत ढुङ्गामुढा प्रहार गरी बिट क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ ।
बिटमा आक्रमण भएपछि केही राउण्ड हवाई फायर गर्नुका साथै बिट तोडफोडमा संलग्न २५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “रेस्टुराँ सञ्चालक र प्रहरीको मिलेमतोमा कुटाइका कारण चालकको मृत्यु भएको भन्ने हल्ला फैलाइयो, तर प्रहरीको यसमा संलग्नता छै्रन । उहाँले मृतक लामाकी श्रीमती र सालीले उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा नै चालक लामाको मृत्यु भएको जानकारी दिनुभयो ।
नयाँबस्ती कुमारी मन्दिर नजिक सडकमा बेहोस भई लडिरहेको अवस्थामा लामालाई फेला पारी उपचारका लागि उनका आफन्तले लगेका थिए ।
प्रवक्ता कार्कीले चालक लामाको मृत्युबारे विभिन्न किसिमका अफवाह आउन थालेपछि यस सम्बन्धमा प्रहरीले आन्तरिकरुपमा छानबिन समिति बनाएको जानकारी दिनुभयो ।