काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताउनुभएको छ । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीले विधेयक फिर्ताको माग गर्नुभएको सन्दर्भमा उहाँले सो विधेयक संसद्को प्रक्रियाबाट परिमार्जन वा संशोधन हुन सक्ने तर फिर्ता नहुने बताउनुभएको हो ।मन्त्री पोखरेलले प्रतिनिधिसभाले प्रक्रियागत रुपमा निर्णय गर्ने र बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुङ्गो लगाउने जानकारी दिनुभयो । मन्त्री पोखरेलले जनताको प्रत्यक्ष सेवा र सरोकारसँग जोडिएको स्वास्थ्य क्षेत्रमा अनशन र हडताल गर्नु अनुचित भएको उल्लेख गर्दै यसबारे अन्य सम्बन्धित मन्त्रालयसँग पनि समन्वय भइरहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “शिक्षण संस्थालाई अनशनस्थल बनाउनु हुँदैन । अस्पतालमा जनताको स्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधि हुन हुँदैन ।”