चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् . स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने समस्या भने निको नभएर आउने बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसपालि अघिल्लो वर्षभन्दा अलि फरक अवस्था देखिएको छ, बढिरहेको जाडोसँगै अत्यधिक धुलोधुवाँका कारण पनि लामो समय औषधि खाँदा पनि रुघाखोकी निको नभइरहेको देखिएको छ ।”
वीर अस्पतालका आकस्मिक विभागका मेडिकल अफिसर डा सरल शर्माले चिसो बढेसँगै श्वासप्रश्वास र दमका बिरामी अत्यधिक बढिरहेको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या बढी भएकाले २० श्यया भएको वीरको आकस्मिक कक्षमा एउटै श्ययामा चार जनासम्म बिरामी राखेर उपचार गर्नु परेको जानकारी दिनुभयो ।
“राजधानीका ग्रामीण भेग र बाहिरी जिल्लाबाट आएका आगोमा खाना पकाउने महिला र अत्यधिक चुरोट सेवन गर्ने ६० वर्षमाथिका वृद्धवृद्धा दमको समस्या भएर धेरै आइरहनुभएको छ”, उहाँले भन्नुभयो । बिहान चिसो पानीले दिनहुँ नुहाउने वृद्धवृद्धालाई पनि श्वासप्रश्वास, रुघाखोकीको समस्या बढी देखिएर वीरमा उपचारका लागि आउने बिरामी बढी छन् । रुघाखोकी लागेका समयमा मास्क लगाएर मात्र बाहिर निस्कन, धेरै हूलमूल र भीडभाड कम जान चिकित्सकले सुझाव दिनुभएको छ ।
चिकित्सकले जाडो समयमा तातो पानी मात्र नभएर तातो सुपहरु पनि प्रशस्त पिउन आग्रह गरेका छन् । “पानी पनि शरीरलाई आवश्यक छ त्यससँगै रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन, मिनरल पनि चाहिने भएकाले तातो सुप, हरियो सागपातको मात्रा पनि खानामा बढाउन आवश्यक छ,” डा पुनले भन्नुभयो ।
धेरै भीडभाड र हूल भएको ठाउँमा संक्रमण हुने सम्भावना बढी हुने भएकाले जानै परेमा मास्क लगाई रुघाखोकी लागेका बिरामीबाट दूरी बनाई बस्न पनि डा पुनको सल्लाह छ । डा शर्माले आगोको धुवाँमा धेरै बस्दा २० खिल्ली चुरोट खाँदा हुने असरबराबरको असर हुने भएकाले बचेर बस्न आग्रह गर्नुभयो ।
बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा पखालेर मात्र बस्न, रुघाखोकी लागेका समयमा प्रशस्त झोल खानेकुरा खाने, हरियो सागपात फलफूलहरु राम्ररी धोई पखाली राम्ररी पकाएर खान पनि चिकित्सकले सुझाव दिनुभयो ।
चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउने र नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी, दम, श्वासप्रश्वासका बिरामीलाई छिटो प्रभावित बनाउने भएकाले विशेष ध्यान राख्न जरुरी छ ।