बझाङ, २६ असोज विद्यालयमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयका छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाको बाटोबाट आफँैले बोकेर आफ्नै खर्चमा शौचालय निर्माण गरेकी हुन् ।
विद्यालयमा छात्रछात्राका लागि एउटै मात्र शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा दिनैपिच्छे छात्र र छात्राको झगडा भइरहने गरेको थियो । कति जना दिदीले त विवाद बढ्दै गएपछि विद्यालय नै छोडे, महिनावारी भएको समयमा त पाँच दिनसम्म विद्यालयमा आउनै छोड्ने गरेको कक्षा ९ की मनिसा धामीले बताउनुभयो ।
गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही नआउने गरेको, शौचालयका लागि आएको रकम कहाँ जान्छ थाहा छैन छात्राको समस्या शिक्षकले नबुझेपछि निकै समस्या भएको छात्राहरु बताउँछन् । विद्यालयमा दलित सहयोग समाजले व्यवहार परिर्वतनअन्तर्गत किशोर–किशोरी समूह गठन गरी विभिन्न खाले तालीम दिएपछि हाम्रो आँखा खुले र शौचालय निर्माण गरिएको छात्रा बताउँछन् ।