वीरगञ्ज, १९ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा प्रदेशका जनसंख्यालाई आधार मानी क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले दिएका छन् ।
यहाँ आज आयोजित कार्यक्रममा अधिकांश राजनीतिक दलका नेता तथा कार्यकर्ताले भूगोलभन्दा जनसंख्या ठूलो भएकाले आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई आधार मानेर गर्नुपर्ने बताउँदै जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गर्दा विवादरहित हुने सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्वसांसद आत्माराम साहले निर्वाचनमा भूगोलले नभएर जनताले मत हाल्ने भएकाले निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याका आधारमा गरेमा त्यसले मधेशको भावनालाई समेट्ने विचार व्यक्त गर्नुभयो ।
अधिवक्ता किशुनदेव कुशवाहा, नेपाली कांग्रेसका रामनारायण कुर्मी, कृपानन्द चौधरीलगायत विभिन्न दलका प्रतिनिधिले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दासले विवादरहित हुने गरी क्षेत्र निर्धारण गरिने प्रतिबद्धता व्यक्त गुर्नुभयो । आयोगका प्रवक्ता गणेशराज कार्कीले विवाद नआउने गरी क्षेत्र निर्धारण गर्नु आयोगको लक्ष्य भएको बताउनुभयो ।
नेपाल संविधानको धारा २८६ (५) मा निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्याबीचको अनुपात यथासम्भव हुने गरी निर्धारण गर्ने भनी उल्लेख गरिएको छ । एक्काइस दिनको कार्यविधि पाएको आयोगले यही साउन ११ गतेदेखि औपचारिक रुपमा काम शुरु गरेको हो ।