म्याग्दी । लागातारको वर्षापछि म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीय त्रसित बनेका छन् । बस्तीमा पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका २२ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
स्थानीय टीका पुर्जा मगरले दिएको जानकारीअनुसार बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा लगातारको वर्षापछि आएको बाढीले असर पु¥याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेका हुन् ।
जमिन चर्किएर पहिरोको जोखिम बढेपछि स्थानीय १० परिवारले बेग गाउँका आफन्तको घरमा सर्ने तयारी गरिसकेको मगरको भनाइ छ । अविरल वर्षाका कारण बस्तीको विभिन्न स्थानमा पहिरोले जमिन फाट्ने, पहिरो खस्ने, शौचालय भत्कने, घर चर्कने समस्या देखिएपछि पहिरोको जोखिम बढेको स्थानीयको भनाइ छ ।
यसै वर्ष लिस्ने खोलामा निर्माण गरिएको झोलुंगे पुलमा समेत खोलामा आएको बाढीले क्षति पु¥याएको छ भने पहिरो र बाढीले बालबालिकालाई समेत विद्यालयमा आवत–जावत गर्न समस्या भएको छ । अहिलेसम्म बेगखोला गाविसमा गाविस–६ का ११ घरधुरीसहित बाढी–पहिरोले १५ घरमा पूर्णरूपमा क्षति पुगेको छ ।
पहिरोले बाँसबोटका सोमबहादुर नेपालीको वडा नम्बर ४ का नगेन्द्र विक, वडा ६ औलका नेत्रबहादुर पुनको घर पनि भत्किएको नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाका सभापति ओमप्रसाद गर्वुजाले जानकारी दिए । उनका अनुसार स्थानीय शिव प्राथमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले बेगखोलाकै कृष्ण निमावि बाँदुकमा कक्षाकोठा भवन भत्किएको छ । रासस
बाढीले पुल बगाएपछि जोखिमपूर्ण यात्रा
बेगखोलामा १६ भदौ राति आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका १० गाविसका स्थानीय, मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बाढीले सडक, बेलीब्रिज र झोलुंगे पुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या उत्पन्न भएको हो । बाढीले कालीगण्डकी थुनेर बनाएको तलाउमा पौडी खेलेर तथा खोलामा पिठ्यूँमा बोकेर वारपार गर्नुपर्ने अवस्था आएको हो ।
अक्करे भीरको फेदीमा बाढीले कालीगण्डकीको धार परिवर्तन गराएर सडक डुबाएको छ । पुल नहुँदा बाढी आइरहेको बेगखोलामा जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था रहेको तिप्ल्याङका बासिन्दा दूतबहादुर गर्बुजाले बताए । सेना, प्रहरी र स्वयंसेवकले पिठ्यूँमा बोकेर तथा हातमा समाएर सर्वसाधारणलाई खोला वारपार गराइरहेका छन् ।
बेगखोला तिप्ल्याङखण्डको वैकल्पिक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा तीन घन्टा घुमाउरो बाटो हिँड्नुपर्छ । बेगखोलामा बाढी आउने र कटान गर्ने क्रम नरोकिएकाले अवरुद्ध बेनी–जोमसोम सडक मर्मतकार्य पनि सुरु हुन नसकेको बताइएको छ । सडक अवरुद्ध हुँदा स्थानीय, पर्यटक र तीर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादित आलु निकासी हुन सकेको छैन । आलु र स्याउ कुहिन थालेपछि कृषक चिन्तित भएका छन् ।
मौसममा सुधार र बाढी रोकिएपछि कालीगण्डकीको धार परिवर्तन गराउने र सडक खुलाउने विषयमा सडक डिभिजन कार्यालय बागलुङसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए ।