बुधवार रंगको पर्व भनेर चिनिने होली पर्व मनाइँदैछ । तर, यो वर्षको होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । त्यसरी जवरजस्ती लोला हानेमा १०० मा फोन गरे प्रहरीले त्यस्तालाई पक्राउ गरी कानुनी कारवाही गर्नेछ ।
होलीमा सरकारले सार्वजनिक बिदा दिएको छ । फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ ।
होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ । होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ । प्रहरीले १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएका छ । कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाउने गरिन्छ ।
२० स्थानमा मोवाइल टोली, क्विक रेस्पोन्स टीम ‘क्युआरटी’ मोटरसाइकल ९२ वटा, २८ स्थानमा पैदल गस्ती, चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ गरेर होलीको सुरक्षा गर्नेगरी काठमाडौं प्रहरीले योजना बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर, भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ । असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ ।