जहाँ महिलाहरू ‘अनागरिक’ छन्

प्रकासित मिति: ८ फाल्गुन २०७३, आईतवार १२:०२

अञ्जली थापा

‘सम्पत्तिसँग पनि नागरिकता जोडिँदो रहेछ, यी वडामा आफ्नो नाममा जग्गा नहुनुले पनि नागरिकतामा प्रभाव पारेको छ ।’

हेटौँडा । भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलासँग ‘नागरिकता’ परिचय–पत्र छैन । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरू कसैले नागरिकता बनाएको रेकर्ड नै छैन । विसं २०६०÷६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन् । त्यतिबेला यहाँका महिलालाई हेटौँडा ल्याएर नागरिकता बनाउन आफूले सहयोग गरेको महिला बचत तथा ऋण सहकारी संस्था लि. भीमफेदीकी निवर्तमान अध्यक्ष मङ्गलदेवी श्रेष्ठले बताउँछिन् ।

‘हामीले त्यसबेला नागरिकता बनाएर ल्याएको भोलिपल्ट नै एक वृद्धाको त निधन भएको थियो,’ उनी सम्झन्छिन्, ‘प्लान नेपाल मकवानपुरको सहयोगमा ग्रामीण महिला सेवा केन्द्रले त्यसबेला नागरिकता बनाएपश्चात् हालसम्म अन्य महिलाले नागरिकता बनाएका छैनन् ।’ भीमफेदी गाविसका सचिव बद्रीप्रसाद सापकोटाले नागरिकता र सम्पत्तिको सम्बन्ध देखाउँदै यस ठाउँमा अधिकांशको आफ्नो नामको जमिन नभएकाले पनि नागरिकता बनाउन तत्परता नदेखाएको बताए । उनले भने, ‘सम्पत्तिसँग पनि नागरिकता जोडिँदो रहेछ, यी वडामा आफ्नो नाममा जग्गा नहुनुले पनि नागरिकतामा प्रभाव पारेको छ ।’ सचिव सापकोटाले यी गाउँका महिला तथा बालबालिका कानुनी अधिकारबाट समेत वञ्चित रहेको जानकारी दिनुभयो ।

सचिव सापकोटाले यी गाउँका पुरुष रोजगारीका लागि खाडी मुलुकमा जानुपर्ने कारणले सबैको नागरिकता बनाएको तर चेतनाको कमीका कारण महिलाको नागरिकताको आवश्यकता नै महसुस नगर्ने गरेको बताए । भोलि सरकारकै कुनै निकायबाट नागरिकताको प्रमाण खोजी भयो भने यस भेगका अधिकांश महिलाहरू ‘अनागरिक’ साबित हुन सक्नेछन् । नागरिकता बनाउन पहल गर्दा पनि यहाँका महिलाको कागजपत्र नै पूरा नहुने बताउँदै सचिव सापकोटाले भूकम्पपछि बालबालिकाको पोषणका लागि आएको रकम वितरण गर्न बच्चाको जन्मदर्ता माग्दासमेत नागरिकताका कारण जन्मदर्ता गर्न नसकेको र बाध्य भएर बाबुको नागरिकताका आधारमा बच्चाको जन्मदर्ता गराइदिएको सचिव सापकोटा बताउँछन् ।

नागरिकता बनाउन कागजपत्र नै पूरा लिएर नआउने र नागरिकता बनाउनुपर्नेबारे बताउँदा पनि यी गाउँका पुरुषले नै त्यति पहल नगर्ने सचिव सापकोटाको भनाइ छ । भीमफेदी गाविसकी सामाजिक परिचालिका इच्छा लामाले यी गाउँमा दिउँसोको समयमा कसैलाई पनि घरमा नभेटिने र काम गर्न सक्ने उमेरका पुरुष त झन् चाडबाडमा मात्र घर आउने गरेको बताए । सामाजिक परिचालिका लामाले यहाँका महिलाले नागरिकता बनाउन आउँदा घरको काम बित्ने भन्दै यो झन्झट नगरौँ भन्ने गरेको बताइन् । भीमफेदी–३ उर्लाघारीकी कान्छीमाया चेपाङको विवाह भएको पनि नौ वर्ष भयो, उनी पाँच सन्तानकी आमा भइसक्दासम्म नागरिकताचाहिँ बनेको छैन । किन नबनाएको भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘आ, मेरो नागरिकताले के हुन्छ र ? बारी खन्न नागरिता चाहिँदैन र पो, श्रीमान्लाई पो परदेश जानुपर्छ त !’

यो त यस ठाउँका महिलाले दिने जवाफको एउटा उदाहरण मात्र हो । यहाँ कान्छीमाया जस्तै बहुसङ्ख्यक महिलाको नागरिकता छैन । यस्तै, ३४ वर्षीया बुद्धिमाया स्याङ्तान दुई बच्चाकी आमा हुन् र कान्छीमायाको जस्तै उनको पनि नागरिकता छैन । भीमफेदी–५ सोलाभञ्ज्याङका वडा नागरिक मञ्चका अध्यक्ष भीमबहादुर गोम्जाले यहाँका महिलाले नागरिकता बनाउन चासो नै नदेखाएको भन्दा पनि पुरुषले नै महिलाको नागरिकता हुनुपर्छ भन्ने महसुस नगरेकाले समस्या आएको बताए ।

Bhansar Bivag
Argakhachi Cement