काठमाडौं । जापानिज निर्देशकले बनाएको फिल्म माई लभ को नेपाली स्याड भर्सन गीत ढल्यो ढल्यो सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालबाट निर्माण पक्षले सो गीत सार्वजनिक गरिएको हो । गीतमा भुकम्प पछिको अस्तव्यस्त र धरहरा ढलेको चित्रण गरिएको छ । गीतमा कलाकार गणेश लामालाई फिचरिङ गरिएको छ । माई लाभको ढल्यो ढल्यो बोलको गीतमा राज सागरको स्वर र संगीत रहेको छ । शुष्मा देवकोटाको शब्द रहेको गीतलाई नारायण जिसीले खिचेका हुन् । चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।
नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ । जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ । माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ ।