अर्घाखाँची, अर्घाखाँची सन्धिखर्कबाट प्यूठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नं को जिप आज दिउँसो हंसपुर गाविसको रतनमारेनजिक पोसपाटामा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी नौ जनाको घटनास्थल र दुई जनाको उपचारका लागि सन्धिखर्क ल्याइँदै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।
दुर्घटनामा प्यूठानमा अध्यापन गर्ने अर्घाखाँची धारपानी–६ का ३६ वर्षीया कमला पौडेल, हंसपुर–१ का चेतबहादुर थापा, हंसपुर–२ का हुमबहादुर घम, हंसपुर–५ का रामबहादुर घर्ती र मीनबहादुर केसी, किमडाँडाका जिप धनी नारायण राना, सन्धिखर्क–२ का सीता नेपाली, गुल्मी पुर्कोट दहका सीपबहादुर कुमाल, भेषबहादुर थापा, बुद्धिराम परियार र बाङ्गेमरोठका शोभा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी छ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि बुटबल पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
जिप सडकबाट करिब ७०० मिटर तल जङ्गलमा खसेको प्रहरीले जनाएको छ । जिप चालक गुल्मीका उत्तम श्रीषलाई प्रहरी चौकी हंसपुरले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।
नयाँ शक्तिद्वारा दुःख व्यक्त
अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको वादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप दुर्घटनाप्रति नयाँ शक्ति पार्टीले दुःख व्यक्त गरेको छ ।
सो पार्टीका प्रवक्ता खिमलाल देवकोटा विज्ञप्ति जारी गरी दुर्घनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा तिनका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको तत्काल उद्धार तथा शीघ्र उपचारको माग गर्नुभएको छ ।