एनबि गुरुङ,
काठमाडौं । तमू (गुरुङ)हरुको प्रथम ऐतिहासिक सार्क सम्मेलन आगामी कार्तिक ७ र ८ गते धरानमा हुने भएको छ । “सम्पूर्ण तमू (गुरुङ)हरुको आव्हान ! एकता, अस्तित्व र पहिचानका लागि प्रथम तमू सार्क सम्मेलन !!” भन्ने मूल नाराका साथ हुन लागेको सार्क सम्मेलनमा दक्षिण एशीयाली मूलुकहरु नेपालसहित भारत, भुटान, बर्मालगायतका देशहरुबाट तमूहरुको सहभागिता हुने भएको छ । तमू समुदायको साझा एवं छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा हुने सम्मेलनको उद्घाटन धरानको भानुचोकमा हुनेछ । ७ गते तमू समुदायको साँस्कृतिक झाँकीसहित ११ बजेदेखि ¥याली शुरु हुने र १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा माननीय श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ, नेपाली काग्रेसका नेता कुलबहादुर गुरुङ, नेकपा एमालेको सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, सिक्किम सरकारको मन्त्री माननीय गर्जमान गुरुङ, राप्रपा नेपालका नेता हेमजङ गुरुङ, राप्रपा नेता तोरणबहादुर गुरुङ, संघीय समाजवादी फोरमका नेता गणेशमान गुरुङ तथा तमू सांसदहरुको समेत सहभागिता रहने परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिए । सम्मेलनमा परिषदका ६१ जिल्ला समितीका प्रतिनिधीहरु, भातृसंस्था, बिशेष सदस्य संगठन तथा आबद्ध तमू संघ–संस्थाका प्रतिनिधिहरु, संस्थाका संरक्षक, सल्लाहकार तथा निर्देशन तथा अनुगमन समितीका सदस्यहरुको उपस्थिति रहनेसमेत उहाँले जानकारी दिए । त्यस्तैगरी तमू प्राज्ञिक व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलमा रहेका तमू शिर्ष नेताहरु, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा चर्चित एवं ख्यातीप्राप्त तमूहरु, निजामती तथा प्रशासनिक क्षेत्रमा उच्च पदमा पुग्न सफल भएका तमूहरु, तमू भाषा, लिपी, संस्कार–संस्कृतिमा योगदान रहेका तथा कलाकार, पत्रकार, वुद्धिजिवि क्षेत्रका अग्रज तमूहरुको सहभागिता रहने छ । भारतबाट सर्वभारतीय गुरुङ संघ भारत, अखिल भारतीय गुरुङ (तमू) बौद्ध संघलगायत सिक्किम, पश्चिम बंगाल, उत्तर प्रदेश, उत्तराखण्ड, बाराणासी, दिल्ली, नागाल्याण्ड, आसामलगायतका प्रदेशका प्रतिनिधीहरु र तमू मन्त्री, सांसदहरुको समेत सहभागिता रहने जनाएको छ । त्यस्तै भुटानबाट तमू छोंज धीं भुटान र रोंधी परिवार भुटानका प्रतिनिधीहरु र बर्माबाट गुरुङ समूहको सहभागिता हुनेछ । सम्मेलनमा सार्कबाहेक यूके, हङकङ, कतार, साउदी, बेल्जियम, दक्षिण कोरियालगायतका देशहरुबाटसमेत पर्यवेक्षकको रुपमा सहभागिता रहने छ ।
सम्मेलनको दोस्रो दिन एकता, पहिचान र अस्तित्वलाई आधार बनाई तीन चरणमा कार्यशााला गरिने कार्यक्रम रहेको छ । कार्यशालाबाट भूगोलको हिसाबले हामी तमू (गुरुङ) विभिन्न मुलुकमा रहेपनि भावनात्मक रुपमा हामी तमू एक हौं, नेपालको कालीगण्डकीदेखि बुढिगण्डकीसम्मका भू–भागहरु तमूवान भूमि हो भनी बोध गर्न र विभिन्न देशमा रहेका तमू संघ–संस्थाबीचमा एकताका लागि कार्यविधी र अन्र्तराष्ट्रिय सञ्जाल निर्माण गर्न, तमू जातिको मातृभाषालाई संरक्षण गर्न र तमू लिपीलाई आधिकारिक रुपमा घोषणा गर्नका लागि दिशानिर्देश गर्न, तमू जातिको साँस्कृतिक पहिचान रोधीं, घाटु, सोरठी आदि र पितृ पूँजा गर्ने, देवि–देउराली, सिमे–भूमे, उधौली–उभौली, धनुषकाण पूँजा, ट्होट्य, पानीको मुहान, ठूलो ढुङ्गा, ठूलो रुख, भिरपहरा आदिलाई पूज्ने परम्परागत मूल्य र मान्यतालाई संरक्षण गर्न, ल्होसार, माङी दिना, मे त्हले त्हे, फुँ ताँ सोँ त्हे, खेकु त्हे आदि पर्वहरु मान्ने प्रचलन कायम राख्न सफल हुनेछ भन्ने अपेक्षा राखेको अध्यक्ष गुरुङले बताए । सम्मेलनको लागि वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङको संयोजकत्वमा १०१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरी ऐतिहासिक रुपमा सम्पन्न क्रियाशिल रहेको छ ।