छाँया आचार्य (नेपाल)
अमेरिकी तत्कालिन राष्ट्रिपति बराक ओबामाले ४ वर्ष अघि आफ्नो निवासमा दिपावली गरेर तिहार मनाएपछि विश्वभरि नै दिपावली फैलन थालेको छ । पाँच दिनसम्म मनाइने चाड तिहार एउटा नेपालीहरुको दशै पछिको दोस्रो ठूलो पर्व हो । दशैको १३ दिन पछि आउने तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ । बत्तीको झिलिमिली हुने भएकाले दीपावली एवं पाँच दिनसम्म मनाएर यमराज तथा उनका दूतहरुको आराधना गरिने हुँदा यसलाई यमपञ्चक भनिएको हो । किंवदन्तीअनुसार यमराज तथा यमुना दाजुबहिनी हुन् यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहाँ गए । बहिनीले दाजुको खुब सेवा गरिन, यमराज यमुनाकहाँ कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल दितियायासम्म पाँच दिन बसेका थिए । यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो भन्ने गरिन्छ । यसबाहेक तिहारसँग अन्य अनेकौं महत्वपुर्ण प्रसङ पनि जोडिएका छन् । तिहारका पाँचै दिन उत्तिकै महत्वपूर्णहुने भए पनि लक्ष्मीपूजाको दिनदेखि तीन दिन सम्म यो पर्वविशेष हर्ष उल्लासपूर्वक मनाउने चलन छ । प्रकृतिसँग निकट सम्बन्ध गाँस्ने यो पर्वको प्राकृतिक धार्मीक र सामाजिक महत्व रहेका छन् । तिहारमा घर घरमा झिलिमिलि बत्ति बाल्ने र फुल मालाले सिंगार्ने गरिन्छ । तिहारमा जुवातास र मध्यपान जस्ता अनेकौं विकृति पनि भित्रिएका छन् ।
काग तिहार कार्तिक कृष्ण चतुर्दर्शी तिथि अर्थात तिहारको पहिलो दिन काग तिहार पर्छ यस दिन कागको पूजा गरिन्छ । कागलाई घिउ चिनि भात, मिठाई आदि मीठा कुराहरु खान दिइन्छ । कागलाई भोजन दिँदा ’ऐन्द्र बारुण वायव्याम याम्या वै नैऋतास्तथा । वायसाः प्रतिगृह्णन्तु मयादत्तमिमं बलिम् ।’ भनेर पूर्व पश्चिम, वायव्य, दक्षिण, नैऋत्य आदि दिशामा रहेका कागहरुले यो बलि ग्रहण गरुन् भन्ने मन्त्र पढिन्छ । कागलाई यमराजको दुत पनि मानिने भएकाले उसलाई सम्मान दिन कागको पूजा गर्न धार्मिक विधान तयार पारिएको हो । आधुनिक सञ्चारको बिकास नहुदा कागले नै खवर ल्याउछ भन्ने गरेर मानिसको हितकारी पन्छी भन्ने गरिन्थ्यो । यसले अनेक प्रकारका फोहोर खाइदिएर वातावरण सफा राख्न सहयोग पनि गर्छ वातावरणीय सन्तुलनमा कागको ठूलो भूमिका हुन्छ । कागलाई चलाख चरा पनि भनिन्छ । चाणक्य नीतिमा पनि बुद्धिमान मानिसले कागसित पाँचवटा शिक्षा ग्रहण गर्नपर्छ भनिएको छ । कागका सम्बन्धमा पुराणहरुमा अनेकौं गाथा उल्लेख गरिएको छ । तुलसीदासको रचना ’रामचरितमानस’ मा काकभुसुण्डी नामक कागको अलौकिक वर्ण गरिएको पाईन्छ । दिशासूचक यन्त्र कम्पासको आविस्कार नभएको हुनाले प्राचीन सिन्धु जस्ता स्थानमा मानिसहरु समुद्रयात्रामा जाँदा कागलाई पनि साथै लान्थे । दिशा थाहा नपाएर अलमलिएको बेला उनीहरु कागलाई उडाइदिन्थे । कागहरु सधैं जमिन तर्फ उढ्ने भएकाले उनीहरु कागको पछिपछि लाग्दै जमिनमा पुग्ने गर्दथे ।
कुकुर तिहारतिहारको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दर्शीका दिन कुकुर पूजा गरिन्छ । यस दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठामीठा कुरा खान दिइन्छ । कुकुरलाई खान दिँदा द्वौ श्रवानौ श्याम शवलौ वैवश्वत कुलोद्धभवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ ।’ अर्थात वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्ण भएका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरु अहिंसक बन भन्ने गरिन्छ । कुकुरलाई इमान्दार पशु मानिन्छ । सिकार गर्न जादादेखि घरको सुरक्षा गर्ने, केहि पत्ता लगाउने जस्ता काममा कुकुरको प्रयोग गर्ने गरिन्छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्र्षौ एकदिन भए पनि कुकुरको पूजा गर्नथालेका हुन् । हाम्रा पौराणिक गाथाहरुमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन् । यस्तै महाभारतमा पाण्डवहरु स्वर्गजाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्गपुगेको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरुप बताइएको छ । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसका सबै पाप नाश हुन्छन् । त्यसैगरी यस दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नुहाइसकेपछि दीपदान गर्न तथा आलसको बोट बालेर आगो तापिन्छ । यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ । लक्ष्मीपूजा तिहारको चौथो दिन अर्थात कार्तिक अमावास्याका दिन लक्ष्मीको पूजा हुन्छ । यो रात्रिलाई सुखरात्रि भनिन्छ । यस दिन बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । समुद्रकी छोरी, विष्णुकी पत्नी लक्ष्मीलाई प्रसन्न पार्न यो रात दीपावली गर्न तथा जुवा खेल्ने चलन छ । यस दिन परिवारका सबै सदस्य बसेर जुवा खेल्दा जसले जित्छ त्यो घरको वर्षभरिको आर्थिक क्रियाकलाप उसैको हातबाट गराउने चलन पनि छ । यस दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नु पर्ने कुरा पनि प्रसिद्ध छ । आधुनिक समाजमा लक्ष्मी अर्थात धन सम्पत्तिको ठूलो महत्व छ । त्यसकारण धन प्राप्त गर्न उद्देश्यले धनवान्देखि धनहीन सबैले यस दिन भक्ति पूर्वक लक्ष्मीको पूजा गर्छन् । यो रात भैली खेल्ने चलन छ । गाईपूजा कहिलेकाहि लक्ष्मी पुजाको दिन बिहान पर्दछ भने कहिले काही तिहारको चौथो दिन कार्तिक शुक्ल परेवाका दिन गाईको पूजा हुन्छ । गाईलाई मानिसको दोस्रो माता मानिन्छ । गाईको दूध अत्यन्त पौष्टिक हुने र नेपालीहरु धेरै जसोले गाईपालन र कृषिको कामलाई सँग सँगै गरेका हुन्छन् । पहिले पहिले जसको घरमा बढि गाई बस्तु छन् त्यहि धनि भन्ने गरिन्थ्यो र यसलाई लक्ष्मीको रुपमा लिने गरिन्थ्यो । बिरामीका लागि पनि उपयुक्त गाईको दूधबाट बन्ने दही, घिउ आदि पनि उत्तिकै पौष्टिक हुन्छन् गाईको गहुँत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ । शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइन्छ । गाईको मलले माटोको उर्वरा शक्ति बढाउँछ त्यसैले पनि कृषकहरु गाई पाल्छन् । गाईको पूजा गर्दा टीका तथा माला लगाउनुका अतिरिक्त चामलको पीठोको छाप बनाएर गाईको शरीरभरि लगाइदिने चलन छ । गाई पूजाकै दिन गोवर्धन पुजा वा गोरु तिहार पनि पर्दछ । गोवर्धन पर्व पूजाको प्रसङ्ग भगवान कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलबासीलाई बर्षाबाट बचाएको सित जोडिएको छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोवर्धन पूजा गरिन्छ ।
भाइटीका तिहारको सबैभन्दा महत्वपूर्ण दिन हो । कार्तिक शुक्ल दितीयाका दिन दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिन्छन् । यस दिन दिदीबहिनीले यमराज र यमुनासँगै यमदूत, सूर्यतथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ । दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन्, अनि तेलको धारा र पानिको धारा लगाई दाजुभाईको परिक्रमा गर्ने गर्दछन् । सप्तरंगी टीकाका साथ दूबो, मखमलीको माला लगाई दिने गर्दछन् । यो अवसरमा ओखर फुटाइन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ । टीका लगाइसकेपछि दिदिबहिनीले दाजुभाइलाई मिठाईं तथा मसलाको उपहार प्रदान गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् । यस दिन भाइलाई लिन आएका यमदूतसित दिदीले अनेक बहाना बनाएर भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ । तिहार विशेष गरी दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध दरिलो बनाउने पर्व हो । हुन त तिहारमा अन्य विविध पक्ष पनि नजोडिएका होइनन् ।
तिहारको बेलामा सबैतिर सयपत्रि र मखमलि फुल ठकमक्क फुलेको देख्न सकिन्छ भने घर पसलहरु सिंगारिन थाल्दछन् अनि रेडियो टेलिभिजनहरुमा देउसो भैलो गुन्जन थाल्दछ । अनि घरघरमा सेल रोटीको मीठो वासना चल्न थाल्छ ।
जसरी एउटा दूबो एक ठाउँमा रोपियो भने त्यो झाँगिएर आउँछ सोहीअनुरूप दिदीभाइको सम्बन्ध पनि झाँगिएर जावोस र आफ्ना दाजुभईको यस कृति फैलियोस भनेर दुवोको प्रयोग गरिन्छ भने मखमलि फुल जस्तै आफ्ना दाजुभाई कहिले पनि नओईलाउन् भन्ने बिश्वासका साथ दुवो र मखमलिको प्रयोग गर्ने गरिन्छ । अनि दिदीबहिनीले लगाइदिएको सप्तरङ्गी टीकाले दाजुभाइको दीघार्यको कामना गरिरहेको हुन्छ । यसले यमराजबाट दाजुभाइको रक्षा हुने बिश्वास गरिन्छ । जसरी इन्द्रेनीले आफ्नो सात रंगबाट धर्तीलाई सुन्दर बनाउँछ त्यसरी नै दिदीबहिनीले सप्तरङ्गी टीकाले दाजुभाइको निधार सजाउँछन् । कालो तथा हरियो रंगले सम्बन्धमा कुनै पनि खालको चिसोपन नआओस भन्ने कामना गर्छ् । दाजुभाइ दिदीबहिनी सँगै बस्दा आपसमा नकारात्मक भाव पनि आउन सक्छ । त्यसैले कुदृष्टिबाट बचाउन सातै रंगको प्रयोग भएको पाइन्छ । भाइटीकामा प्रयोग हुने रंगमध्ये सेतो रंग कञ्चनताको प्रतीक हो । यसले सम्बन्ध नधमिलियोस् भन्ने सन्देश दिन्छ । रातो रंग प्रगाढ सम्बन्ध कायम रहोस भन्ने कामनासहित लगाइन्छ । त्यसैगरी पहेंलो रंग सुख समृद्धिको कामनाका साथ लगाइन्छ । नीलो रंगले माया विशाल आकाश तथा समुद्रजस्तै गहिरो होस् भन्ने कामना गर्छ । त्यसलाई हातको औंला, तुलसीको डाँठ वा सलाईको काँटीमा कपास बेरेर लगाइन्छ । पहेंलो रंगमा लामो रेखा कोरी त्यसमा अरु बाँकी रंग भरिन्छ । बाँकी रंग आफ्नो इच्छा अनुरुप लगाउने चलन पनि छ ।
एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे । यस पुण्यको प्रतापले स्वर्ग लोक हल्लिन थाल्यो र देवताहरुले भगवान विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पु¥र्याउने आस्वासन दिए । त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ’ यो ब्राह्मण त्यसै सानो छ र यसका पाउ पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेका थिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्राथना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस भने यस वरलाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । त्यसैले देउसेहरुले पनि हामि त्यसै आएनौं बलि राजाले पठाएको भनी देउसी भैलो भट्याउने गर्दछन् ।