दिगो व्यवस्थापनका लागि सामुदायिक संस्था सहकारीमा परिणत

सल्यान,  गरिबी निवारण कोषका उपाध्यक्ष युवराज पाण्डेले गरिबी निवारण कोषबाट स्थापना गरिएका सामुदायिक संस्थाको दिगो व्यवस्थापनका लागि सहकारीमा परिणत गरिने बताउनुभएको छ ।
सामुदायिक संस्थामा रु १० अर्बभन्दा बढी रकम भएकाले त्यसको व्यवस्थापनका लागि सहकारी संस्थामा परिणत गरिने जानकारी सदरमुकाम खलङ्गामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले दिनुभयो । पचपन्न जिल्लामा करिब २९ हजार सामुदायिक संस्था छन् । “गरिबी निवारण कोषले रु नौ अर्ब अनुदान दिएको छ, सामुदायिक संस्थाका सदस्यले जम्मा गरेको रकम रु एक अर्बभन्दा बढी छ, त्यसको व्यवस्थापन सहकारी संस्था नभएर सम्भावना छैन”, पाण्डेले भन्नुभयो ।

कार्यक्रमले ७५ प्रतिशत आयआर्जन र २५ प्रतिशत पूर्वाधारमा लगानी गरेर गरिबी घटाउन मुख्य भूमिका खेलेको जानकारी दिँदै उहाँले नेपालमा १७ प्रतिशतले गरिबी न्यूनीकरण भएकामा कार्यक्रमले ०.८ प्रतिशतले गरिबी घटाउन योगदान गरेको बताउनुभयो ।

कार्यक्रम सल्यान जिल्लामा पनि प्रभावकारी रुपमा कार्यान्वयन भएको अनुगमनका क्रममा आफूले पाएको जानकारी दिनुभयो । “सल्यानमा पनि गरिबी निवारण कोष कार्यक्रमले ग्रामीण समुदायमा आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ, यसले युवालाई वैदशिक रोजगारीमा जान रोकेको अनुगमनका क्रममा मैले प्रत्यक्ष पाएको छु”, उहाँले भन्नुभयो ।

सल्यानमा पाँच सयभन्दा बढी सामुदायिक संस्था रहेको र ती संस्थामा रु २५ करोडभन्दा बढी रकम लगानी भइसकेको कोषका कार्यकारी अधिकृत विद्याराज कँडेलले जानकारी दिनुभयो । गरिबी निवारण कार्यक्रम जिल्लाका २७ गाविसमा सञ्चालित छ ।

Related posts

Leave a Comment